१८ भाद्र २०७७, बिहीबार

ललितपुर, १८ भदौ । रातो मछिन्द्रनाथको रथ तान्न पुगेका युवाहरु र प्रहरीबीचको झडपले ललितपुरको पुल्चोक आज विहानदेखि निरन्तर तनावमा छ ।

विहान साढे नौ बजे रथ तान्न पुगेका युवाहरु र प्रहरीबीच दिउँसो ११ बजे सुरु भएको झडप निरन्तर रहेको छ ।

सांस्कृतिक र सामाजिक परम्परा निरन्तर राख्न पाउनु पर्ने माग गर्दै लतिलपुरको प्रख्यात रातो मच्छ्रिन्द्रनाथको रथ तान्न पुगेका युवाहरु र प्रहरीबीचका झडपले दिनभर स्थिति तनाबग्रस्त बनेको थियो ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले भदौ २४ गतेसम्म निषेधाज्ञा कायम राखेको अवस्था र जात्रा एवं चाडपर्व नमनाउन आग्रह गरिरहेको अवस्थामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तान्न पुगेपछि स्थानीय प्रशासनले रथ नतान्न आग्रह गरेको थियो ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुँग्यास समेत प्रहार गरेको थियो । रथ तान्न पाउनु पर्ने पक्षमा युवाहरुको भीड बढ्दै गएपछि स्थिति थप तनाबग्रस्त बनेको थियो ।

युवाहरुको संख्या बढेपछि भएको झडपमा एक ट्राफिक प्रहरीमाथि पनि निर्घात आक्रमण भएको थियो । ती ट्राफिकलाई भीडबीचबाट नै केही युवाहरुले बचाएर सुरक्षित स्थानमा पुर्याएका थिए ।

प्रहरीले प्रहार गरेको अश्रुग्यास युवाहरुले पुनः प्रहरीतर्फ नै फ्यालेका थिए भने दोहोरो ढुंगा हानाहान समेत हुँदा दुबै तर्फ केही घाइते भएका छन् ।

LIVE TV