१८ भाद्र २०७७, बिहीबार
  • नन्दराम खड्का

रोल्पा, १८ भदौ  । रोल्पाको होलेरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र उपचारका लागि आउने बिरामीका लागि सेवाविहीन बन्दै गएको छ। गत वर्षको असार महिनामा एमबीएस डाक्टर आकाश बेलबासेको सरुवा भएपछि झण्डै एक वर्षसम्म डाक्टरविहीन बनेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको दरबन्दीमा यस वर्ष डाक्टर आभास ओली आएका छन् ।

लामो समय डाक्टर नभएपछि यहाँ चेकजाँच तथा उपचारका लागि सामान्य समस्या लिएर आउने बिरामीहरु समेत दाङ जानुपर्ने बाध्यता थियो। पर्याप्त सेवा-सुविधा हुनुपर्ने अस्पताल नजिकमै हुँदाहुँदै पनि आकस्मिक सेवा त परैको कुरो, सामान्य समस्याका लागि पनि दाङ जानुपर्ने र अनावश्यक पैसा खर्चिन बाध्य बनेका सेवाग्राहीहरु यस वर्ष डाक्टर आउँदा खुशी बनेका थिए । तर उनीहरुको खुसी र आशा अहिले दिनानुदिन निराशामा परिणत हुँदै गइरहेको छ। किनभने यहाँ आउने बिरामीहरुले जति पाउनुपर्ने हो, त्यति सेवा-सुविधा नै पाउन सकिरहेका छैनन्।

केही दिनअघि घरमा काम गर्ने क्रममा लडेर रुन्टीगढी- ७ स्थित दुर्गा परियारकी आमाको खुट्टामा समस्या देखियो । उपचारका लागि होलेरीमा ल्याउँदा सादा एक्सरे समेत नहुने भएपछि उनले तुरुन्तै दाङ लैजानु पर्यो। घर नजिकै रहेको अस्पतालबाटै पाउनुपर्ने सुविधा नपाएपछि अनावश्यक रकम खर्चिएर उपचारका लागि दाङ जानुपरेको पीडा परियारले सुनाए।

प्राथमिक स्वास्थ्य केन्द्रमा ७० प्रकारका औषधि उपलब्ध हुनुपर्ने हो। तर अहिले यहाँ जम्मा २५ प्रकारका औषधि मात्र उपलब्ध रहेको डाक्टर आभास ओलीले जानकारी दिए। नेपाल सरकारबाट नि:शुल्क रुपमै उपलब्ध गराइएका अन्य सबै औषधिहरु बिरामीले निजी क्लिनिकमा गएर किन्नुपर्ने बाध्यता रहेको छ। वर्षाैंअघि खरिद गरिएका यहाँका स्वास्थ्य उपकरणहरु समेत पुराना भएर राम्रोसँग काम नगर्ने अवस्थामा छन् । तर सम्बन्धित निकायले कुनै चासो नदिएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

औषधिको अभाव र बिरामी चेकजाँच गर्ने उपकरणहरुको समस्या अनि अस्तव्यस्त भएका कारण यहाँ आउने डाक्टरहरु प्रायः ६ महिनाभन्दा बढी बस्न रुचाउँदैनन्। होलेरीमै निजी क्लिनिकसमेत रहेका अहेब गणेश बुढा केही समयअघि यहीँ स्वास्थ्य केन्द्रमै कार्यरत थिए। तर अहिले उनि रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य संयोजक छन्।  उनले पनि प्राथमिक स्वास्थ्य केन्द्रको सुधार तथा सेवासुविधा व्यवस्थापनका लागि खासै पहल गरेको पाइँदैन।

चुनावताका स्वास्थलाई पनि मुख्य एजेन्डा बनाएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले विभिन्न कार्यक्रमहरुमा प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कुनै कमी आउन दिदैनौँ भनेर भाषण गरिरहन्छन। तर प्राथमिक स्वास्थ्य केन्द्र होलेरीलाई भाषण र कागजमा मात्रै सीमित राखिँदा यहाँ आउने बिरामीहरुको अनावश्यक रुपमा समय र पैसा खर्च भइरहेको गुनासो गर्दछ्न्।

समयमै औषधि खरिद नगर्दा यस वर्ष रुन्टीगढी गाउँपालिकाले औषधि किन्नका लागि विनियोजन गरिएको ८ लाख रकम फ्रीज भएको छ। यसरी पनि बुझ्न सकिन्छ कि स्थानीय सरकार नागरिकहरुको स्वास्थ्यप्रति गम्भीर देखिन्न । आकस्मिक सेवाका लागि यहाँ आउनेहरुका लागि त प्राथमिक स्वास्थ्य केन्द्रको कुनै काम नभएको सेवाग्राहीहरुको भनाई रहेको छ।

२०५३ सालमा स्थापना भएको यस स्वास्थ्य केन्द्रमा दक्षिण रोल्पाका विभिन्न ठाँउ तथा प्युठान र घोराही- १९ का बिरामीहरु समेत उपचारका लागि आउने गर्दछन्। तर प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको हालत भने दिनानुदिन खस्किँदै गइरहेको छ।

LIVE TV