
- सविन लामिछाने,
तनहँ, १७ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको भनिएको सवारी साधन नभेटेपछि गोताखोर टोली फर्किएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिम्सिनाका अनुसार कुन सवारी साधन खसेको भन्ने अझै यकिन हुन सकेको छैन ।
घटनास्थलको प्रकृति हेर्दा सवारीसाधन खसेको जस्तो देखिएको तर खोजतलास गर्दा सवारी साधन हालसम्म भेट्न नसकिएको पनि तिम्सिनाले जानकारी दिनुभयो ।
मुग्लिनबाट दमौलीतर्फ आउदै गरेका यात्रुहरुले विहानको समयमा सवारी खसेको जानकारी दिएपछि घटनास्थल पुगेर प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।
नदीको गहिरो रहेकाले सवारी साधन खोज्न गोताखोर मगाए केही पत्ता लाग्न नसकेको पनि तिम्सिनाको भनाइ छ । खोजी कार्य भने जारी राखिने पनि उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले सडकको डिभाइडर भाँचेर कुनै सवारी साधन नदीमा खसेको जस्तो देखिएको बताउनुभयो ।
घटनास्थलमा पुग्नु भएका पौडेलले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारी र म पनि घटनास्थलमा गएका थियौ, सवारी साधन यो भन्ने देखिएको छैन, सीसीटीभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटोमा देखिएकाले त्यही हो की भन्ने अनुमान गरेका छौ ।’