१७ भाद्र २०७७, बुधबार
  • सुमन कार्की

पाल्पा, १७ भदाै । नेपालमा कोरोना संक्रमण सुरु भएसँगै देशव्यापी रुपमा गरिएको लकडाउन र निषेधाज्ञाका कारण नेपालको ताजमहल मानिने  रानीमहल सुनसान बनेको छ । अन्य समयमा हरेक दिन आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने रानीमहल यति खेर पर्यटकको पर्खाइमा एक्लै कुरिरहेको देखिन्छ ।

जिल्ला सदरमुकाम तानसेनबाट १३ कि.मि. उत्तरमा कालीगण्डकी किनारकाे भिरालो चट्टानमा रानीमहल अवस्थित छ । तीनतले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाइनबाट निर्माण गरिएको थियाे । दरबारमा २४ कोठा रहेका छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । ५–१५–०–२ रोपनी क्षेत्रफल समेटेको दरबार भित्रै पोखरी, मन्दिर, बगैंचा, सित्तलपाटी, घोडा बाध्ने तवला, भक्तिनीहरु बस्ने स्थल आदि रहेका छन् । रानीमहल भनेर नसुनेको मान्छे सायदै कम होलान्, जो कोही पर्यटकहरुलाई एक पटक रानीमहलले आफूतर्फ आकर्षित गरेकै हुन्छ ।

कोरोना संक्रमण देखिए सँगसगै संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण रानीमहल क्षेत्रमा आउने पर्यटकहरु अहिले शून्य रहेका छन् । यसले गर्दा रानीमहल घुम्न आउने पर्यटकहरुलाई मध्यनजर गर्दे संचालनमा आएका रिर्सोटहरु समेत सुनसान रहेको स्थानीय व्यवसायी बसन्त कुँवरको भनाई छ ।

रानीमहल जीर्ण बन्दै गएपछि र भएका सामानहरु समेत चोरी हुन थालेपछि साथै काली गण्डकीको भेलले दरवारको जगमा समेत असर गर्न थालेपछि स्थानीयले दरवारको संरक्षणको पहल गरेका थिए । रानीमहल अहिले स्थानीय सरकार तानसेन नगरको स्वमित्वमा रहेको छ ।
एकदमै रमणीय स्थल रहेको जो कोहीको पनि मन सजिलै लेभ्याउन सक्ने यस स्थान सम्म आइपुग्दा पर्यटक कोही पनि नभेटिएको संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण दरवारमा समेत चाबी लगाएको पाइएको स्थानिय पत्रकार सुशिल नेपाल बताउछन् ।

प्रेमकाे प्रतीकका रूपमा लिइने भारतको आग्राको ताजमहलसँग तुलना गरी “नेपालको ताजमहल” समेत भनेर चिनिने यो दरबारमा लकडाउन हुनुअगि दैनिक ४ सयदेखि ५ सय जनासम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका थिए । पछिल्लो समय रानीमहलमा एक दुइजना देख्न समेत मुस्कील भएको स्थानियवासीहरुको भनाई छ ।

पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा वि.सं. १९४९ मा शुरु गरी ५ वर्ष लगाएर वि.स. १९५४ सालमा रानीमहल निर्माण पूरा गरेका थिए । सँच्चा प्रेमको प्रतीक ठानिने रानीमहल प्रेम जोडीहरुको प्रमुख गन्तव्य मानिँदै आएको छ । यहा देनिक सयौ पर्यटकहरुको घुइचो लाग्नेमा अहिले शुन्यमा झरेको छ जसकाकारण रानीमहल क्षेत्र समेत कुरुप बन्दै जानथालेको देखिन्छ ।

LIVE TV