१६ भाद्र २०७७, मंगलवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १६ भदौ । भारत गणराज्यका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनसँगै उनले जनकपुरधाममा गरेका वाचा अधुरै रहेको छ ।

२०७३ साल कात्तिक २९ गते सोमबार नेपालको तीन दिवसीय राजकीय भ्रमणको क्रममा जनकपुरधाम आएका मुखर्जीले प्राचीन नगरी जनकपुरधाम आउने तीर्थयात्रीहरुको सुविधाका लागि भारत सरकारद्धारा जनकपुरधामको परिक्रमा सडकखण्डमा दुई वटा धर्मशाला निर्माण गर्ने घोषणा गरेका थिए ।

जनकपुरधामस्थित तिरहुतीया गाछीको मैदानमा राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा मिथिलावासीहरुको तर्फबाट आयोजित नागरिक अभिनन्दन समारोहमा सम्बोधन गर्दै उनले नेपाल र भारतबीचको अटुट सम्बन्धमाथि चर्चा गर्दै जनकपुरले भारतको विभिन्न धर्मस्थललाई धार्मिक आस्थासँग जोडेकाले भारत सरकार यस क्षेत्रको विकासमा गम्भीर रहेको उद्घोष गरेका थिए ।

१३ मिनेटको सम्बोधनमा उनले भनेका थिए, ‘यो क्षेत्रको सडक, विद्युत, औद्योगिक क्षेत्रलगायत अन्य विकासका कार्यमा पनि भारत सरकारले निरन्तर सहयोग जारी राख्नेछ ।’

मुखर्जीले घोषणा गरेका ४ वर्ष बितिसक्दा पनि तिर्थालुका लागि धर्मशाला निर्माण सम्बन्धी कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । भारतीय दूतावासले जिल्ला प्रशासन कार्यालय धनुषालाई धर्मशाला निर्माणका लागि समन्वय गरिदिन पत्राचार गरेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदलाई डीपीआर तयार गर्न भनेको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष बलराम ठाकुरले भने, ‘बृहत्तरले धर्मशाला निर्माणका लागि डीपीआर समेत तयार गरेर बुझायो ।

हामीले महोत्तरीको मटिहानी र जनकपुरधामस्थित एयरपोर्ट नजिकै जग्गाका लागि समेत पहल गरेका थियौं । तर, बीचमा बन्दाबन्दी भएपछि थप काम अगाडि बढ्न सकेन ।’

LIVE TV