१५ भाद्र २०७७, सोमबार
  • रिया भण्डारी

काठमाडौं, १५ भदौ । कोरोना संक्रमण समुदायमा प्रवेश गरेको हो या होइन भन्ने तथ्य पत्ता लगाउन अब समुदाय स्तरमा परीक्षण गरिने भएको छ । लक्षण नदेखिकन निको भएका कत्ति छन् र संक्रमणको अवस्था कुन स्थितिमा छ भन्ने यथार्थको छिनोफानो गर्न इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न लागिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अवस्था समुदायस्तरमा के कस्तो स्थितिमा छ भन्ने अध्ययन गर्न एन्टीबडी परीक्षण गर्ने तयारी थालेको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत कोरोना संक्रमण समुदायमा फैलिएको छ या छैन भन्ने यथार्थ पत्ता लगाइने भएको छ ।

रगतको स्याम्पल संकलन गरेर गरिने ‘एन्टिबडी सेरोलोजिकल टेस्ट’ले समुदायमा कोरोना भए नभएको पत्ता लगाउन सकिने छ । कोरोना संक्रमण भएर लक्षण नै नदेखिकन निको भैसकेका ब्यक्तिको पनि संक्रमण पत्ता लगाउन एन्टिबडी सेरोलोजिकल टेस्ट भरपर्दो हुने बिज्ञहरुले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अर्को साताबाट काठमाडांै उपत्यकामा यो परीक्षण सुरु गर्ने छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोगमा ‘सेरो सर्वेक्षण’ एन्टिबडी परीक्षण गर्न लागिएको हो । यो परीक्षणमा उपत्यकाको विभिन्न ठाउँमा गएर मानिसहरुको रगतको नमुना संकलन गरेर परीक्षण गरिनेछ । जो सुकैले पनि यो परीक्षणमा रगतको नमुना दिन सक्छन् । ‘सेरो सर्वेक्षण’ ले कोरोना संक्रमण भई थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लाग्छ । कोरोना संक्रमण भएको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न हुन्छ ।

सेरो सर्भेलेन्सबाट कोभिड– १९ को संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको पनि थाहा हुनेछ । पीसीआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्छ भने ‘सेरो सर्वेक्षण’ ले मानिसमा पहिले भएको संक्रमणको भाइरस बारे पनि पत्ता लगाउछ ।

कोरोना भाइरस समुदायमा छ या छैन त भन्ने बहस तीब्र बनरिहेको समयमा बढ्दो संंक्रमणको दरले स्थिति नाजुक बनाउदै लगेको छ । यो सर्वेक्षणले समुदायमा कोरोनाको अवस्था छर्लङ्ग पार्ने मात्र नभइ यस्ले दिने नतिजाले कोरोना संक्रमणको बढ्दो रफ्तारमा रोकथाममा सहयोग पुग्ने विश्वास पनि लिइएको छ ।

LIVE TV