१४ भाद्र २०७७, आईतवार

काठमाडौं, १४ भदौ । सरकारले लामो दूरीका सार्वजनिक सवारी साधन भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना महामारी बढेको निष्कर्ष निकाल्दै लामो, मध्यम तथा छोटो दूरीका सवारी साधनहरु भदौ मसान्तसम्मका लागि बन्द गरेको बताइएको छ ।

यस अगाडि भदौ १५ गतेबाट लामो, था छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय

मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान पनि भदौ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म बन्द गर्ने बताइएको छ ।

हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त

यसैबीच आजको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङ र मकाउ तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाललाई चीनको स्वसाशित क्षेत्र तिब्बतको ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको पनि बताइएको छ ।

गत मंगलबार मात्रै महावाणिज्यदूत नियुक्त गर्ने प्रक्रियाअन्तर्गत दुवै सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो ।

LIVE TV