१४ भाद्र २०७७, आईतवार

काठमाडौं, १४ भदौ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड–१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दूर्व्यवहार गर्नेलाई कारवाही गरिने बताएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दूर्व्यवहार गर्नेलाई कारवाही हुने बताए ।

“स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, त्यस्तो व्यवहार कदापि सहन गर्न सकिदैन”, उनले भने, “यस्ता कार्य गर्नेलाई पहिले थुन्ने र त्यसपछि कुरा सुन्ने आदेश जारी भइसकेको छ ।”

कोभिड-१९ सँग लड्ने हतियारका रुपमा देशभरका स्वास्थ्यकर्मीमाथि पटक–पटक भै रहेको दुव्र्यवहारले मुलुकलाई नै प्रभावित पार्न सक्ने हुँदा यस्ता आदेश गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो ।

उनले स्वास्थ्यकर्मीले जुनसुकै अवस्थामा पनि आपूmहरु काम गर्न तयार रहेको तर समाज, काम गर्ने संस्था र घर परिवारबाट समेत बेलाबेलामा हुने व्यवहारले आहात हुने गरेको उल्लेख गरे ।

कोभिड–१९ बाट पीडित जो सुकैलाई पनि निःशुल्क रुपमा उपचार दिने, परीक्षण गराउने, स्वास्थ्यकर्मीलाई चाहिने मास्क र पीपीईजस्ता सामग्री दिने निर्वाध रुपमा उपलब्ध गराउने जिम्मा सरकारको भएको हुँदा व्यवस्थापन मिलाउन आफू तयार रहेको उनको भनाइ थियो ।

मानव अधिकारका लागि एक महिला संस्थाका संस्थापक अध्यक्ष लिलि थापाले स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार निन्दनीय भएको उल्लेख गरे । शहीद गङ्गालाल अस्पतालका डा नृपेश अधिकारी, सिभिल अस्पतालका स्टाफ नर्स सोना महर्जन र बी एण्ड बी अस्पतालका मेडिकल अधिकृत डा आकृति जोशीले चिकित्सकले पछिल्लो समयमा समाजमा हेलाको दृष्टिकोणले हेर्ने गरेको र घरबेटीले घरमा नबस्न भनेको अनुभव सुनाए ।

नेपाल नर्सिङ सङ्घका उपाध्यक्ष मीना बानियाँले अग्रपक्तिमा रहेर काम गर्ने स्वस्थ्यकर्मीको बीमा, भत्ता र स्वास्थ्यको विषयमा पनि गम्भीर भएर सरकारसँग वार्ता गरिरहेको जानकारी दिए ।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले कोरोनाकाल बिताउन अभिशप्त भएकाले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान र प्रेरणा मिलोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

LIVE TV