१४ भाद्र २०७७, आईतवार
  • अभिमन्यू लामिछाने,

उदयपुर, १४ भदौ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सिर्वानीकी एक महिलाको खाना खाने क्रममा भात सर्किएर सिकिस्त हुँदापनि उपचार नपाएर मृत्यु भएको छ । विराटनगरका अस्पतालले उपचार गर्न नमानेपछि ६५ बर्षीया डम्बरकुमारी बस्नेतको आइतबार मृत्यु भएको हो ।

विराटनगरका–९ वटा अस्पताल चाहार्दासमेत कोरोनाको आशंकाले उपचार गर्न नमानेपछि घर ल्याइएको डम्बरकुमारीको मृत्यु भएको हो । शनिबार बेलुकाको खाना खाने क्रममा भात सर्किएपछि उनी बेहोस् भएकी परिवारले जानकारी दिएको छ ।

उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचारको लागि लगिएको परिवारका एक सदस्यले बताए । प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

त्यहाँका मोरङ सहकारी, माक्स, न्यूरो, ग्रीनक्रस, लाइफ गार्ड, विराट नर्सिङ (विराटनगर हस्पिटल), विराट मेडिकल कलेज र कोशी अस्पतालमा पुरा¥याइएको थियो । तर, सबै अस्पतालहरुले एम्बुलेन्सबाट नझारी अस्पतालको गेटबाटै फर्काइदिएको एम्बुलेन्स चालक दीपक खत्रीले बताए ।

‘बिरामीको अवस्था बुझ्दै नबुझी अस्पताहरुले गेट बाहिरबाटै फर्काइदिए’, उनले भने, ‘अन्तिममा गोल्डेन अस्पतालले भर्ना लियो ।’ तर, विरामीको अवस्था गम्भीर भएकाले आईसीयूमा राख्नुपर्ने र अस्पतालको आईसीयू खाली नभएको भन्दै अन्यत्र लैजान भन्दै निकालिदिएको उनले बताए ।

कोरोना संक्रमण नभई भात सर्केर बेहोस् भएकी बताउदा पनि अस्पतालहरुले भित्रै पस्न नदिएका मृतका ज्वाई पशुपति भण्डारीले शताए । ‘८ वटा अस्पतालले गेट भित्रै पस्न दिएनन्’, उनले भने, ‘अन्तिममा गोल्डेन हस्पिटलले छात्तिको एक्स–रे, रगतलगायतको जाँच गरेपनि विरामीलाई आईसीयूमा राख्नुपर्ने अवस्था भएको बतायो ।’

तर, गोल्डेनमा आईसीयू खाली नभएको भन्दै अन्य अस्पतालमा लैजान भनेपछि पुनः आइसीयू भएका सबै अस्पताल पु-याइएको पनि उनले बताए । तर कसैलेपनि आईसीयू भएको अस्पतालले भर्ना लिन नमान्दा आमाको मृत्यु भएको बताए ।

LIVE TV