१४ भाद्र २०७७, आईतवार

काठमाडौं, १४ भदौ । हन्ड्रेड्स ग्रुप (100’s Group)ले मानवी क्रियटिभ एसोसिएशनलगायतका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेर कोरोना महामारीको चपेटामा परेका न्यून आर्थिक आय भएकाहरुलाई निःशूल्क खाना खुवाउँदै आएको छ ।

हन्ड्रेड्स ग्रुप (100’s Group)ले विभिन्न संघसंस्थाहरुको सहकार्यमा निःशूल्क खाना खुवाउन थालेको आज १ सय ५६ औं दिन पुगेको छ ।

यस अभियानले १५६ औं दिन पूरा गरेको अवसरमा पनि काठमाडौंको खुल्ला मञ्चमा ५०० भन्दा बढीलाई खाना खुवाइएको हन्ड्रेड्स ग्रुप (100’s Group)का सक्रिय सदस्य बद्री ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार हालसम्म दुई लाख बढीलाई निःशूल्क खाना खुवाइएको छ । साथै, कोरोना महामारीले सिर्जना गरेको स्थिति सहज नभएसम्मका लागि खाना खुवाउने अभियान निरन्तर रहने उनले जानकारी गराएका छन् ।

उनले भने, ‘हामीले खाना खुवाउने क्रममा सामाजिक दूरी कायम गरेका छौं । मास्क नभएकालाई मास्क वितरण गर्छौं र ज्वरो चेक गर्छौं । त्यसपछि मात्रै खाना खुवाउँछौं । यो अभियान कोरोना महामारीको सिर्जना गरेको स्थिति सहज नभएसम्मका लागि जारी रहनेछ ।’

हाल यस अभियानमा १० जना सदस्याहरु सक्रिय रहेका पनि उनले जानकारी दिए ।

तस्बीर : महेश्वर केसी/न्यूज २४

LIVE TV