१४ भाद्र २०७७, आईतवार

दोलखा, १४ भदौ । कोरोना महामारीका बीच पनि परम्परा निरन्तरताका लागि सामाजिक दूरी कायम गरी दोलखामा इन्द्रजात्रा मनाइएको छ ।

भाद्र शुक्ल त्रयोदशीका दिन विधिपूर्वक लिङ्गो ठड्याइएपछि वर्षा र सहकालका देवता इन्द्रको तथा भैरवको पूजा–आराधना गरी दोलखामा पाँच दिनसम्म इन्द्रजात्रा मनाउने गरिन्छ । द्वादशीका दिन लिङ्गोका लागि चाहिने रुखलाई विधिपूर्वक पूजा गरी काटिन्छ ।

त्रयोदशीका दिन दोलखा बजारका तल्लो टोलको कोर्छे, बहिर माथिल्लो टोलको बुद्धस्तुपालगायत विभिन्न स्थानमा पूजाआजा गरी लिङ्गो ठड्याइएर जात्रा प्रारम्भ गर्ने प्रचलन छ । पाँच पाण्डव र कौरवको महाभारत युद्धमा एकलव्य पनि सहभागी थिए भन्ने मान्यता रहदै आएको छ ।

एकलव्यले महाभारतको युद्ध हेर्ने चाहना राखे अनुसार कृृष्णले उनको शिर छेदन गरी लिङ्गोको माथिल्लो भागमा बाँधेर महाभारत युद्ध देखाएको पौराणिक कथन छ ।

सोही कथन अनुसार दोलखामा हालसम्म पनि लिङ्गो गाड्ने र लिङ्गोको माथिल्लो भागमा एकलव्यलाई बाँध्ने चलन छ । इन्द्रजात्राकै अवसरमा दोलखा बजारका विभिन्न टोलका भैरवको मुर्ति प्रदर्शन गरी पुजा गर्ने तथा लाखेजात्रा, खट प्याखः निकालिन्छ ।

दोलखाका विभिन्न स्थानका भैरवको मूर्ति चोरी भसकेको र माथिल्लो टोलको बुद्धस्तुपा मात्र भैरवको मूर्ति प्रदर्शन गर्ने गरिएको छ ।


यो पर्व मनाउन गुठीको व्यवस्था भएपनि गुठीबाट आउने आयस्रोत बन्द भएपछि सात ठाँउमा गाडिने लिङ्गो तीन ठाँउमा मात्र गाडिने गरिएको छ, भने खट प्याखः पनि बन्द भएको छ । तर यस वर्ष कोरोनाका कारण माथिल्लो टोलको बुद्धस्तुपामा मात्र लिङ्गो गाडिएको भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए ।

LIVE TV