१३ भाद्र २०७७, शनिबार
  • विवेक राई,

भोजपुर, १३ भदौ । भोजपुरको पौवादुम्मा गाउँपालिका–१ श्यामसिसिलाका निम्दोर्जी शेर्पा बैदेशिक रोजगारीबाट फर्किएपछि जैतुन खेतीमा लागेका छन् ।

बैदेशिक रोजगारीका क्रममा खाँडी मुलुक साउदीमा ८ वर्ष विताएका शेर्पाले व्यवसायिक रुपमा जैतुन खेती थालेका हुन् । शेर्पाले ८० लाख बढीको लगानीमा २६ रोपनी क्षेत्रफलमा जैतुन खेती सुरु गरेका हुन् ।

वि.सं. २०५८/५९ सालतिर भौतारिदै भोजपुरबाट काठमाडौं आएका शेपाले काठमाडौंको गांगबुमा खाजा र खाना बेच्ने समान्य होटल सञ्चालन गरेका थिए । तर, उक्त होटलको कमाईले परिवार धान्न गाह्रो हुँदै गएपछि उनले बैदेशिक रोजगारीका लागि साउदी जाने योजना बनाए ।

योजना अनुसार नै उनी वि.सं.२०६२ सालमा उनी साउदी अरब पुगे । साउदी पुगेका शेर्पाले सुरुमा विद्युतीय पसलमा काम गर्थे । त्यहाँ उनको मासिक तलब सात सय रियाल थियो ।

आठ वर्षसम्म सोउदीमा रहँदा उनले राम्रो आम्दानी लिन थालेका थिए । पछि अरब छाडेर नेपाल आउने समयसम्म उनको मासिक पारिश्रमिक ८५ हजार पुगेको थियो ।

शेर्पाले साउदीमा ८ वर्ष विताउदा राम्रै कमाई गरेका थिए, भने यता नेपालमा पनि आफ्नो परिवारले होटललाई निरन्तरता दिएर थप सहयोग पु-याए । साउदीमा रहदा शेर्पाले जैतुनको बारेमा केही सुने/बुझेका आधारमा जिल्लामै पहिलो पटक व्यवसायिक जैतुन खेती गरेर बस्ने योजना बनाए र जैतुन खेती सुरु गरेका हुन् ।

शेर्पाले बैदैशिक रोजगारीबाट कमाएकोे ५५ लाख र परिवारले होटल व्यवसायबाट कमाएको केही रकमबाट जैतुन खेती गरेका हुन् । चित्लाङबाट प्रतिगोटा छ सय ५० रुपैयँका दरले किनेको विरुवा श्यामशिलासम्म आइपुग्दा १२ सय नाघेको शेर्पाले बताए ।

जैतुन खेतीका लागि हावापानी र माटोको परीक्षणपछि राम्रो नतिजा आएकाले शेर्पाले खेती सुरु गरेको बताएका छन् । पहिलो पटक मकवानपुरको चित्लाङबाट पाँच सय बीस बोट विरुवा खरिद गरेका थिए ।

शेर्पाले करिब ८० लाखको लगानीमा जैतुनको विरुवा रोप्ने काम सम्पन्न गरेका छन् । सरुआतमा विरुवा हुर्काउनका लागि शेर्पाले ६ महिनाका लागि कालेबुङबाट प्राविधिक बोलाएर मासिक पारिश्रामिक ४५ हजार दिएका थिए ।

यसका साथै, विरुवा गोडमेल तथा बगान रेखदेखका लागि अन्य ४ जना स्थानीय युवाहरुलाई रोजगारी दिएका थिए । तर, पछि २ जनामा सीमित गरेका छन् । विरुवा बढ्दै गएपछि प्राविधिक अज्ञानताका कारण जैतुनको बीस बोट मरेर गएको शेर्पाले जानकारी गराए ।

सुरुमा शेर्पालाई लगानी डुब्ने पो हो कि भन्ने चिन्ताले सताउँथ्यो, तर यो वर्षबाट भने जैतुनले फल दिन सुरु गरेको उनको भनाइ छ । शेर्पाका अनुसार एक बोट जैतुनले १ सय २० केजीसम्म फल दिन्छ । उक्त २० केजी जैतुनबाट १ लिटर तेल बन्ने पनि उनले सुझाए ।

विज्ञहरुका अनुसार जैतुनको तेल स्वस्थका लागि लाभदायक हुने र उक्त तेलको मूल्य नेपाली बजारमा ३ हजार ५ सय देखि ४ हजारसम्म पर्छ । शेर्पाले भने “आलु रोप्न मात्र जानेको यो शेर्पाको छोराले जैतुन खेती गरेको छु । सबै कमाई यसैमा लगानी गरेको छु । यसवर्षबाट फल लाग्न शुरु गरेको छ ।’

त्यसोत, प्रशोधनका लागि आवश्यक मिलसमेत आफै राख्ने योजना बनाएका शेर्पाले बताए । त्यस्तै, सात रोपनी जग्गामा किवी खेती गर्ने योजना बनाएको पनि शेर्पाले बताए ।

LIVE TV