११ भाद्र २०७७, बिहीबार

काठमाडौं, ११ भदौ । नेपाल बंगलादेश बैंकले कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि अभाव भइरहेको समयमा दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै हाम्रो संयुक्त लगानीको बैंक, आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा उक्त औषधिहरु सहयोग गरिएको हो ।

हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि ‘रेम्डेसिभिर’ पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको हो ।

उक्त औषधि अबको एक–दुई दिनभित्र नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने बताइएको छ । उक्त औषधिको हालको बजार मूल्य करिब दुई कारोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको जनाइएको छ ।

यसका साथै, नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा एक करोड ४५ लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

LIVE TV