११ भाद्र २०७७, बिहीबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ११ भदौ । कोरोना संक्रमणबाट प्रदेश २ मा आज ८ जनाको मृत्यु भएको छ । यससँगै प्रदेश २ मा मृत्यु हुनेको संख्या ७२ पुगेको स्वास्थ्य निर्देशनालय जनाएको छ ।कोरोनाको हटस्पट बनिसकेको यस प्रदेशमा पछिल्लो समय दिनहँु कोरोना संक्रमितको मृत्यु हुन थालेको छ । बिहीबार एक गर्भवति महिलासहित ८ जनाको मृत्यु भएको हो । बिहीबार पर्सामा २ जना, बारामा ५ र धनुषामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्साको सुपौलीका ६८ वर्षीय पुरुष र बहुअरीका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । त्यस्तै बारामा ४२ वर्षीय, ५९ वर्षीय, ७० वर्षीय र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ भने सवर्ण गाउँपालिका वडा नं. ४ हर्दियाका २३ वर्षीय गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालय जनाएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं। ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट ११ महिला र ६१ पुरुषको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी पर्सामा ३०, धनुषा र बारामा १२÷१२, सप्तरीमा ५, सिरहामा ४, महोत्तरी, सर्लाही र रौतहटमा ३÷३ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

१ सय २४ संक्रमित थपिए

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, एचवीडीआरटिसी हेटौडा र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताउनुभयो ।

बिहीबार सबैभन्दा बढी धनुषामा ३७ जना संक्रमित थपिएका छन् । त्यस्तै सप्तरीमा ३२, पर्सामा २६, बारामा १०, महोत्तरीमा ६, रौतहटमा ६, सिरहामा ४ र सर्लाहीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमा १८ महिला र १ सय ६ पुरुष रहेका छन् ।

त्यस्तै बिहीबार ९ महिलासहित ५७ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् । कोरोनाबाट निको हुनेको संख्या ४ हजार ४ सय ९६ पुगेको छ भने हाल यस प्रदेशमा ४ हजार ९ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

LIVE TV