१० भाद्र २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १० भदौ । धनुषामा भैंसीलाई नुहाउन नदीमा गएकी एक महिला एकदिन पश्चात मृत अवस्थामा फेला परेकी छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–२ राधापुर बस्ने उत्तिम यादवकी ४० वर्षीया श्रमिति भूटिदेवी यादव मृत अवस्थामा भेटिएकी हुन् ।

मंगलबार बिहान करिब ११ बजे बलुवा खोलामा खनिएको खाल्डोमा भैंसीलाई नुहाउन गएकी यादव अबेर रातिम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा आज (बुधबार) दिउँसो १२ बजे नदी किनारमा मृत अवस्थामा भेटिएकी हुन् ।

गाउँकै एक व्यक्तिले नदीमा माछा मारिरहेका समयमा मृतक महिलाको शव नदी किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शवलाई प्रहरी र स्थानीयको सहयोगमा नदीबाट बाहिर निकालिएको छ ।

त्यस्तै, आजै जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा समेत एक पुरुषको शव आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

रजौलस्थित बाँसबारीमा आँपको रुखमा डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा स्थानीय खेहरु यादवका ३० वर्षीय छोरा छबिलाल यादवको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LIVE TV