१० भाद्र २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १० भदौ । जनकपुरधाम उपमहानगर पालिकाको वडा नम्बर ७ ले वडाबासीको लागि स्वास्थ परीक्षण र निःशूल्क आपतकालीन स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीको समयमा सामान्य प्रकृतिका बिरामीहरुलाई पनि समयमै उपचार प्रदान गर्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ ले ‘आपतकालीन निःशूल्क स्वास्थ्य शिविर अभियान’ सञ्चालन गर्न लागेको जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बालबालिक, महिला र बृद्धबृद्धाको अवस्थालाई मध्यनजर गर्दै अभियान सुरु गर्न लागिएको जानकारी दिए ।

उनले आफ्नो वडाबासीलाई प्रत्येक शुक्रबार, शनिबार र आइतबारका दिन बिहान ८ बजेदेखि १० बजेसम्म चिकित्सकहरु डा. ज्याउल हक (गाइनो), डा. श्रीराम शर्मा (जेनरल फिजिसियन र मेडिसिन) र डा. जाफर राइन (बाल रोग विशेषज्ञ)को टिमद्धारा निःशूल्क स्वास्थ्य परीक्षण गरिने बताए ।

वडाध्यक्ष साहले अहिले कोरोना संक्रमणको उच्च जोखिममा अस्पतालमा भर्ना नलिने, डाक्टरले रोगीको उपचार नगर्नेलगायतका जनगुनासोहरु आएकाले पनि वडाबासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै य। अभियान सञ्चालन गर्न लागेको न्यूज २४ लाई जानकारी दिए ।

वडाध्यक्ष जानकीराम साहको संयोजकत्वमा आपातकालीन निःशूल्क स्वास्थ्य शिविर अभियानका लागि समिति समेत गठन गरिएको छ ।

समितिका सदस्यहरुमा पत्रकार किरण कर्ण, कार्यपालिका सदस्य श्यामा झा, जिरोमाइल प्रहरी चौकीका इन्चार्ज, नागरिक समाजका डा.बिनोद साह, योग गुरु मनोहर प्रसाद साह, मोहम्मद गुलाम रसूल, जिरोमाइल युवा कमिटीका अध्यक्ष, भैरव युवा कमिटीका अध्यक्ष, वडा सदस्य संतोष सरवरीया, वडा सदस्य मो.नाजिर हुसेन र वडा सदस्य रामराजी देवीलगायत रहेका छन् ।

LIVE TV