१० भाद्र २०७७, बुधबार

काठमाडौँ, १० भदौ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मंगलवार भएको छलफलमा निषेधाज्ञा १ हप्ता लम्ब्याउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने भइसकेको छैन ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले थप १ हप्ता निषेधाज्ञा जारी राख्ने विषयमा छलफल भएको तर निर्णय बुधवार मात्र हुने जानकारी दिए ।

उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौं, भक्तपुर र ललितपुरमा थप १ हप्ता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो ।

‘कोरोना संक्रमणको महामारी दिन प्रतिदिन भयावह बन्दै गएकाले अहिलेको अवस्थामा १ हप्तासम्म जारी राख्नुपर्ने देखियो,’ उनले भने, ‘यसअघिको निर्णयको समयावधि १० गते रातिसम्म भएकाले मंगलवार निर्णय हुन सकेन ।

कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि भदौ ३ गते बुधवार राति १२ बजेबाट जारी निषेधाज्ञा १० गते बुधवार मध्यरातबाट सकिँदैछ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ । निषेधाज्ञा थपिएसँगै संक्रमितका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ । मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही शुरू गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार तोकिएको अवधिभन्दा बढी समय पसल खोल्नेदेखि आफूखुशी सवारी चलाउने १ हजारभन्दा बढीलाई कारबाही गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।

LIVE TV