९ भाद्र २०७७, मंगलवार

वीरगञ्ज, ९ भदौ । वीरगञ्जमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मंगलबार बाराका दुई जना र पर्साका एक जना गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।पर्साका एक जनामा मृत्युपछि कोरोना पुष्टि भएको जनाइएको छ । यसअघि वीरगञ्जको गण्डक कोभिड अस्पतालमा गत आइतबार राति उपचारका क्रममा मृत्यु भएको पर्साको जीराभवानी गाउँपालिका–४ सुपौलीका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो संगै वीरगञ्जमा मंगलबार तीन जनाको मृत्यु भएको छ ।

आइतबार मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। विश्रामपुरका ७२ वर्षीय पुरुषको कोभिड अस्पतालमा मंगलबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेश चौरसीयाले जानकारी दिनुभयो ।

कोरोनाको लक्षण देखिएको उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उपचारका लागि उनलाई परिवारले सोमबार वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा ल्याएर भर्ना गरेका थिए। उनमा ज्वरोका साथै श्वासप्रश्वासको पनि समस्या रहेको डा। चौरासीयाले बताए । यस्तै गण्डक कोभिड अस्पतालमै बाराको महागढीमाई नगरपालिका–४ का ५९ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ ४ गतेदेखि गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती संक्रमित पुरुषमा पनि निमोनियाको समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको चौरसीयाले जानकारी दिए। वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ। साउन यतामा मात्रै ३६ जनाको मृत्यु भएको हो।

LIVE TV