९ भाद्र २०७७, मंगलवार
  • बसन्त खतिवडा

बारा, ९ भाद्र । जिल्लामा व्यापक रुपमा संक्रमण बढ्न थालेपछि जीतपुरसिमरा उपमहानगर वडा नं २३ का वडाध्यक्ष असलम देवानले आफ्नै लगानी र केही उद्योगीको सहयोगमा ३० बेडको आईसोलेसन निर्माण गर्नुभएकाे छ ।

वडामा रहेको अदिम खाना रसिदिया अनाथालय आश्रमको भवनमा ३० बेडको आईसोलेसन निर्माण गरेका हुन । वडामा नै १२ जना संक्रमित भईसक्दा समेत उनीहरुलाई आईसोलेसनमा राख्न नपाएपछि वडाध्यक्ष आफैले उक्त आश्रमसँग कुरा गरी आईसोलेसन निर्माण गरेको उहाँले बताउनुभयो । स्वयमसेवकको रुपमा डा इल्ताब अन्सारी र डा एमामुल मन्सुरीले आईसोलेसनमा बसेका विरामीहरुको निशुल्क चेकजाँच गर्नेछन् ।

डाक्टरहरुलले निशुल्क सेवा दिन्छु भनेपछि वडाध्यक्षले स्थानीय उद्योग कलकारखाना र व्यक्तिगत लगानी गरी आईसोलेसन निर्माण गरेको बताउनुभयो । ‘आईसोलेसन बनाउनु मात्र ठूलो कुरा थिएन, गाउँमै रहेका डाक्टरहरुले स्वंयम्सेवा गर्छु भनेपछि मैले आँट गरेँ ।’ -देवानले भननुभयो ।

कालिगढले दुई दिनमा ३० वटा बेड तयार गरे, वडामा नै रहेको डाबर नेपालले च्यावनप्राश र मह जस्ता सामान सहयोग गरेकोे छ भने म्याग्नस फर्माले औषधिको सहयोग गर्ने प्रतिवद्धता जनाएको समेत वडाध्यक्ष देवानले बताउनुभयो ।

‘आईसोलेसन निर्माण गरिएको भवनमा आश्रम रहेको थियो, त्यहाँ खाना खाजाको मेस समेत सञ्चालनमा रहेको थियो । सोही मेसलाई अब हामी विरामीका लागि प्रयोग गर्छौ,’ वडाध्यक्ष देवानले भन्नुभयो ।

जीतपुरसिमरा उपमहानगरले आईसोलेसन निर्माण तथा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पाँच करोड बजेट छुट्याएपनि हालसम्म उक्त बजेटबाट एक रुपैयाँपनि खर्च गर्न सकेको छैन ।

जिल्लामा कोरोना संक्रमण बढ्नथालेपछि जिल्ला विपत व्यवस्थापन समितिमा सवै स्थानीय तहले आईसोलेसन निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धता जनाएपनि महागढिमाई नगरपालिका बाहेक अन्य स्थानीय तहले हालसम्म आईसोलेसन निर्माण गरेका छैनन् ।

जीतपुरसिमरा उपमहानगरले ५० बेडको आईसोलेसन बनाउने प्रतिबद्धता जनाएको थियो । यसैगरी हाल जीतपुरसिमरा उपमहानगरमा रहेको क्वारेन्टाईनलाई स्तरोन्नती गरी ४०० बेडको आईसोलेसन निर्माण गर्ने भनिएपनि हाल सम्म कुनै काम हुन सकेको छैन ।

कोरोना नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समितिलाई प्रदेश सरकारले दिएको १ करोड ७० लाख रकम समेत खर्च हुन सकेको छैन । उक्त रकमले बाराको पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रको भवनमा १०० बेडको आईसोलेसन निर्माण गर्ने जनाईएको थियो ।

LIVE TV