९ भाद्र २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, ९ भदौ । विराटनगर वडा नं. ३ का कोरोना संक्रमित सिताराम दाहालको उपचारमा लापरवाही गरेको भन्दै हालिएको रीटमा सुनुवाई गर्दै उच्च अदालत विराटनगरले कोरोना संक्रमितको उपचारमा संवेदनशिल भएर काम गर्न सरोकारवाला निकायहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ ।उच्च अदालतले सामाजिक विकास मन्त्रालय, कोभिड विशेष उपचार केन्द्र, विराटनगर महानगरपालिका, कोशी अस्पताल र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतलाई १६ बुँदे निर्देशनात्मक अन्तरिम आदेश जारी गरेको हो ।

बुबाको न्यूनतम उपचार समेत नभएको र स्वास्थ्यमा हेलचेक्राइ भएको भनेर संक्रमित दाहालकी छारी निलिमा दाहालको रिट निवेदन माथि छलफल गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले कोरोना उपचारमा विशेष सक्रियता देखाउन, पीसीआर परीक्षणको रिपोर्ट तत्काल दिने व्यवस्था मिलाउन, अन्य रोगको विरामीलाई उपचार सेवा उपलब्ध गराउन लगायतको निर्देशनात्मक आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिनुभयो ।

अस्पताहरुले समान्य विरामीको समेत उपचारमा वेवास्ता गरेको भनेर विराटनगर स्थित कोशी अस्पताल र धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा बन्द गरिएको सम्बन्धमा उच्च अदालत विराटनगरमा हालिएको रिटमा विपक्षीहरुलाई भाद्र १५ गते छलफलका लागि बोलाउने आदेश भएको छ ।

कोरोना संक्रमणका कारण ओपिडी सेवा संचालन नगरेको भन्दै अधिवक्ता हरि नारायण चौधरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास मन्त्री जीवन घिमिरे, जिल्ला प्रशासन कार्यालय मोरङ, कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विपक्षी बनाउदै रिट निवेदन हाल्नु भएको हो । न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले विपक्षीहरुलाई छलफलका लागि बोलाएको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

LIVE TV