९ भाद्र २०७७, मंगलवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, ९ भदौ । प्रदेश २ मा थप १ सय ६४ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । योसँगै यस प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ९ हजार १ सय १८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सबैको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिएका छन् ।

आज सबैभन्दा बढी सर्लाहीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै धनुषामा ३८ जना, रौतहटमा २६ जना, महोत्तरीमा १७ जना, बारामा १७ जना, सिरहामा १५ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज ७ महिलासहित ५६ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्किएका छन् । आज बारामा २४ जना, धनुषामा १९ जना, सप्तरीमा ९ जना र महोत्तरीमा ४ जना संक्रमितहरु निको भएर आफ्नो घर फर्किएका हुन् ।

योसँगै यस प्रदेशमा निको हुनेहरुको संख्या ४ हजार ३ सय ११ पुगेको छ, भने ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल यस प्रदेशमा ४ हजार ८ सय ६ जना संक्रमितहरुको उपचार भइरहेको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

LIVE TV