८ भाद्र २०७७, सोमबार

काठमाडौं, ८ भदौ । नेपाल तरुण दल केन्द्रीय समितिले कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि फ्रन्टलाइनमा खटिइरहेका स्वास्थ्यकर्मीहरुमाथि दूर्व्यवहार र अपहेलना भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले प्रेस विज्ञप्ती जारी गर्दै फ्रन्टलाइनमा खटिइरहेका स्वास्थ्यकर्मीहरुमाथि दूर्व्यवहार र अपहेलना गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

जारी विज्ञप्तीमा विषम परिस्थितिमा फ्रन्टलाइनमा रहेर जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति नेपाल तरुण दल केन्द्रीय समितिले उच्च सम्मान प्रकट गरेको उल्लेख गरिएको छ ।

त्यस्तै, कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि फ्रन्टलाइनमा दिनरात खटिइरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई सरकार र नेपाली जनता सबै मिलेर उच्च मनोबल र हौसला प्रदान गर्नका लागि आग्रहसमेत गरेको छ ।

यसैबीच तरुण दल केन्द्रीय समितिले देशको विभिन्न ठाउँमा जारी भएको निषेधाज्ञाको पालना गर्न र सबैजना आ आफ्नै घरमा बसेर आफूले आफैलाई सुरक्षित राख्नको लागि समेत आग्रह गरेको छ ।

LIVE TV