८ भाद्र २०७७, सोमबार
  • बसन्त खतिवडा

बारा, ८ भदौ । बारामा आज एकैदिन ९५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । कलैया नगरपालिकाका ७३ जना र नेपाल आयल निगम प्रादेशिक डिपो कार्यालय अमलेखगञ्जका नौ कर्मचारी समेत रहेका छन् ।

निगमको प्रशासन र सरसफाई गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल आयल निगम बीरगञ्ज र अमलेखगञ्ज गरी नौ जना कर्मचारीमा संक्रमण देखिएको छ र अन्य ७ जना स्थानीय ट्याङ्कर चालक रहेको छ ।

निगमले शनिवार कर्मचारी र केही ट्याङ्कर चालकहरुको स्वाव संकलन गरी बीरगञ्ज स्थित नारायणी अस्पताल पठाईएको जनाएको छ । अहिले संक्रमित व्यक्तिहरुको लागि स्थानीय स्तरमा नै होटल खोजी आईसोलेट गरी राख्न लागिएको निगमले जनाएको छ ।

कलैयामा रहेका संक्रमितहरु केही लाई होम आईसोलेसन र केहीलाई गंगापुरमा रहेको कोरोना अस्पतालमा राखिने बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

गंगापुरमा रहेको आईसोलेसनमा सय बेड रहेको छ भने हाल ३४ जना उपचारत रहेका छन् । एकै दिन ठूलो संख्यामा संक्रमित भएकाले केहीलाई होम आईसोलेसन र केहीलाई अस्पताल ल्याउने तयारी भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंण्डितले जानकारी दिनुभयो ।

 

LIVE TV