८ भाद्र २०७७, सोमबार
  • सुमन पाठक

नमस्कार !

म सुमन पाठक । यतिबेला कोरोना संक्रमण भएर भरतपुरस्थित एक होटल आइसोलेसनमा बसिरहेको छु । मलाई कोरोना संक्रमण भएको आज ९ दिन बितिसक्यो । म सुरुमा भरतपुर सरकारी अस्पतालको आइसोलेसनमा गएको भए पनि बेड अभावले गर्दा होटल आइसोलेसनमा बसिरहेको छु । सुरुवाती चरणका लक्षण देखा परेको भए पनि अहिले मेरो स्वास्थ्य अवस्था ठीक छ ।

तपाँइहरुको माझमा आउँदै गर्दा म कुनै सेलिब्रेटी या नेता भने होइन् । तर एक साधारण मानिस भएकै भरमा तपाइँको माझमा आएको छु । मेरो यो लेख पूरै पढेपछि मात्र म यसरी मिडियामा आउनुको तात्पर्या थाहा पाउनु हुनेछ ।

हाम्रो समाजमा कोरोना संक्रमित भनेपछि हेर्ने नजर नै भिन्नै छ । मुलुकमा कयाैँ संक्रमित चिकित्सकमाथि समाजले नै गर्ने गरेको दुर्व्यावहारका समाचार दिन-प्रतिदिन सुनिँदै आएका छन् । चिकित्सक बसिरहेको स्थानमा सिङ्गो समाज पुगेर उसलाई घरबाट निकाल्ने प्रयास गरिरहे । फ्रन्टलाईनमा खटिएका चिकित्सकमाथि नै यसरी दुर्व्यावहार हुन्छ भने संक्रमित तपाईं-हामीसँग समाजले कतिसम्म गर्ला, एक पटक सोचाैँ त ? हिजो जुन चिकित्सकले ज्यान बचाए, आज तिनै चिकित्सकलाई लखेटिँदै छ । आखिर कता जाँदै छ मावनता ?

होम आईसोलेसनमा बसेका चिकित्सकमाथि हुने अन्यायको समाचार पढ्दै कोरोनासँगै लडिरहेको मलाई र होम क्वारेन्टाइनमा बसेका घरपरिवारको मनोबल गिराउने काम भइरहेको देख्दा मानसिक छटपटि सुरू हुन्छ । यस्तो समस्या तपाइँ कसैलाइ नपरोस् भन्ने उद्देश्यले यो कुरा लेख्दै छु ।

गत साउन २७ गते मलाइ ज्वरो आउने, टाउको दुख्ने, रुघा लाग्ने लक्षण देखा पर्यो । यस्तो अवस्थामा कोरोना परिक्षण गराउन उचित ठानेँ । म बिहानै घरबाट उठेर रत्ननगरको गुञ्जमासिंह अस्पताल पुगेँ । त्यहाँ पुग्दा नगरपालिकाकाे सिफारिस लिएर आउनु अनि मात्रै परीक्षण गरौँला भन्दै फर्काइयो । अस्पतालबाट बाहिर निस्कँदै गर्दा आफ्नो वडा अर्थात् रत्ननगर वडा नम्बर- १० का वडा अध्यक्ष केशव आचार्यलाई फोन सम्पर्क गरेँ । तर उहाँबाट कुनै रेस्पोन्स भएन । २७ गते नगरपालिकाको कुनै एक कर्मचारीको मृत्युले गर्दा नगरपालिका बन्द रहेछ । त्यो दिन घरमै गएर बसेँ ।

भोलिपल्ट २८ गते बिहानै म रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखामा पुगेँ र आफुमा भएका सबै लक्षण बताएँ । त्यहाँबाट पनि मलाई कोरोना चेक गर्नू भनेर अनुमति दिइएन । स्वास्थ्य शाखाका एक कर्मचारीले ‘सबै ज्वरो आएका बिरामीलाई परीक्षणको सिफारिस दिन सकिन्न, हामीले सिफारिस दिने भनेको कि विदेशबाट आएको, कि त १४ दिन क्वारेनटाइनमा बसेकाहरूलाइ मात्र हो’ भने । अनि निराश हुँदै नगरपालिकाबाट बाहिर निस्केँ । तर मैले रकम तिरेर परिक्षण गर्छु भन्दा समेत कोरोना परिक्षण गर्न पाइनँ ।

२८ गते पनि घरमै बसेँ ।  आफूलाई परेको समस्यासहित भरतपुरका एकजना भिनाजुलाई फोन सम्पर्क गरेँ । उहाँले २९ गते स्वाब तान्ने गरी आफ्नो नाम टिपाएको बताउनुभयो । बिमा कम्पनीमा कार्यरत आफू धेरै स्थानमा पुग्नुपर्ने, जुन बेला चितवनमा समुदाय स्तरमा कोरोना फैलिसकेको थियो ।

२९ गते बिहीबार स्वाब दिएर आएपछि घरको एक कोठामा एक्लै बसेँ । मेरो रिपोर्ट के आउछ भन्ने कौतुहल थियो । त्यो बेला कहीँकतै कसैसँग सम्पर्कमा गइनँ । मैले प्रयोग गर्ने बाथरुम समेत अलग थियो । घरमा बाबा, आमा, दिदी र साना भाञ्जाभाञ्जी थिए । मेरो रिपोर्ट ढिला गरी शनिबार राति मात्रै आयो । त्यो बेला मलाई कोरोना पोजेटिभ भएको थाहा भयो ।

यो कुरा सबैभन्दा पहिले मेरो स्वाब तान्नमा सहयोग गर्नुहुने भिनाजुलाई भनेँ । उहाँले वडामा जानकारी गराउन आग्रह गर्नुभयो । यो कुरा मैले आफ्नो घरमा पनि बताएँ । भिनाजुले वडा अध्यक्ष तथा स्वास्थ्य शाखा लगायत धेरै ठाउँमा जानकारी गराउने काम गर्नुभयो ।

मलाई छुट्टै बस्नु, केही बेरमै स्वास्थ्यकर्मीको टिम आउछ, आत्तिन पर्दैन भन्दै शान्तवना दिने काम भयो । म घरमा स्वाब दिएको दिनदेखि छुट्टै बस्दै आएको थिएँ । मेरो मनमा पनि कुनै हडबडाहट भएन । धेरै जना निको भएका छन्, म पनि निको हुन्छु भन्ने कुरा सोच्दै बसिरहेँ ।

रत्ननगर नगरपालिकामा वडा अध्यक्ष तथा स्वास्थ्य शाखाबाट जाँच गर्ने अनुमति नपाएपछि मलाई भिनाजुले आफ्नो ठेगाना भरतपुर- १० बाट मेरो नाम अस्पतालमा लेखाउनुभएको थियो । अहिले उक्त विषयलाई लिएर जनप्रतिनिधि तथा समाजका केही भद्र भनिनेहरुबाटै कोरोना भएको कुरा लुकाउन ठेगाना नै परिवर्तन किन गरिस् भन्दै म र मेरो परिवारलाई तनाब दिने काम गरिरहेका छन् ।

ममा कोरोना पुष्टि भएपछि होटल आईसोलेसनमा बस्दै आएको छु ।

म साँच्चिकै एक जिम्मेवार नागरिकको हैसियत नभएको भए मेरो कारणले कतिजनालाई कोरोना सर्ने थियो होला त ? नगरपालिकाको कुरा मानेर घरमै बसेको भए आज घरपरिवार तथा समाजमा कोरोना फैलिने थियो । तर, हात जोडेरै भए पनि आफूले परिक्षण गराएँ, जस्ले गर्दा अहिले मबाट अरू संक्रमित हुन पाएका छैनन् ।

जब मलाई कोरोनाको लक्षण देखियो, तब परीक्षण गर्नका निमित्त सानो सिफारिस समेत नदिएका जनप्रतिनिधि नै आफैंले कोरोना लुकाउन खोज्यो भन्ने आरोप लगाए । आफन्तलाई पटक-पटक फोन गरेर हैरानी दिँदा निकै पीडाबोध महसुस गरेको छु । म आफूले कोरोना जित्छु, यसमा मलाई कुनै संकोच छैन । तर म र मेराे घर-परिवारप्रति समाजले देखाएकाे व्यवहारका कारण सृजित मानसिक पीडा छिटै निकाे हाेला त ?

यतिबेला सुमनले कोरोना संक्रमित भएको भन्दै लुकाउन किन खोज्यो ? आफ्नो ठेगाना अस्पतालमा किन सही दिएन भन्दै मेराे घर परिवारमा तनाव दिन थालिएको छ । स्वाब दिएर आएपछि घरमै बसेको मलाई विभिन्न कार्यक्रममा गएर अन्यलाई कोरोना सार्यो भन्ने निराधार कुरा सुन्दा आत्मबल बढाउन गाह्रो हुने रहेछ ।

परिवारसँग बस्दै आएको म कतै परिवारमा कोरोना सर्छ कि भन्ने डर थियो । परिवारमा त घुलमिल नभएको मलाई अहिले तिनै जनप्रतिनिधिले सुमनले ठेगाना लुकाएर गर्न खोजेको के हाे भन्दै मेरा आफन्तलाई फोन गर्न थालेका छन् । जुन कुरा सुन्दा आइसोलेसनमा बसेको ममा के बितिरहेको होला ? कल्पना गर्नुहाेस् । होम क्वारेन्टाइनमा बसेका मेरा परिवारलाई कति तनाव भएको होला ? मलाई अब संक्रमणको कत्ति डर छैन्, तर समाजका ती  कलंक, जसले नचाहिने अनेकौँ कुरा उठाइरहेका छन्, उनीहरुसँग भने डर छ ।

भोलि रोगलाई जसै जितौँला तर समाजका कलंकसँग मेरो केही सीप लाग्ने छैन, जुन बेला मलाइ र मेरो परिवारलाई तनाब दिएर अर्को मानसिक रोगको शिकार बनाउननेछन् ।

आज भदौ ९ गतेसम्म घरका अन्य व्यक्तिमा कोरोना परीक्षण गरिएको छैन । म आफू तातोपानी खाएरै कोरोनालाई जित्ने कोशिसमा छु । तर मेरो परिवारमा हालसम्म परीक्षण किन भएन ?  त्यही माथि अनेकौँ तनाब दिन थालिएको छ । सरकार, तिमीमा अलिकति पनि मन रहेछ  भने मैले जस्तो सामाजिक अपमान, बहिस्कार र जनप्रतिनिधिहरूबाटै गलत व्यवहार अरू कसैले भाेग्न नपराेस् !

LIVE TV