७ भाद्र २०७७, आईतवार
  • रिया भण्डारी,

काठमाडौं, ७ भदौ । संसार कोरोना भाइरसविरुद्ध लडिरहदा अग्रपंक्तिमा उभिएर डट्ने जनशक्ति स्वास्थ्यकर्मी नै हुन् । संक्रमितको उपचार गर्दा गर्दै अहिले विश्वभर धेरै स्वास्थ्यकर्मीहरुले आफुहरुको ज्यानलाई आहुति दिइसकेका छन् ।

औषधि पनि पत्ता लाग्न नसकेको अवस्थामा स्वास्थ्यकर्मीले खेलेको भुमिका र गरेको व्यवहारले नै लाखौं संक्रमितले जीवन पाएका छन् । त्यसैले पनि संसार नतमस्तक छ यो शक्तिसंग । तर यही शक्तिसंग दुव्र्यवहार पनि बढ्दो छ नेपालमा समेत ।

चिकित्सक एवं स्वास्थ्यकर्मी नै कोरोना भाइरसका वाहक झै ठान्दै अहिले उनीहरुमाथि दुव्र्यवहार बढ्दो छ । कोरोना संक्रमितको बढ्दो दरलाई ध्यानमा राख्दै अहिले नेपालमा उपलब्ध स्वास्थ्यकर्मीको भरमा नै यो महामारीविरुद्ध लड्नु पर्ने बाध्यता छ ।

तर दुर्भाग्य यही स्वास्थ्यकर्मीको मानमर्दन गरेर उनीहरुको मनोबल घटाउने घटना बढ्दो छ ।

– दाङमा चैतको दोस्रो साता एक नर्सलाई घरबेटीले घरबाट निस्कन बाध्य पारे,

– बीरगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई होटलद्धारा खाना खाजा खुवाउन अस्वीकार,

– चितवनमा संक्रमितको उपचार गर्दा गर्दै संक्रमित बनेका चिकित्सक दम्पत्तिमाथि दूर्व्यवहार,

– तनहुँमा नेगेटिभ रिपोर्ट आएपनि नर्स दिदी र प्राविधिक भाइलाई समाजद्वारा बहिष्कार,

– काठमाडौंमा नै स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको विरोधमा टोलवासीद्वारा होष्टल घेराउ,

दाङकी एक नर्स गत चैतको दोस्रो साता घरबेटीबाट दुव्र्यवहार भोगेर डेराबाट निकालिइन । बैशाखको दोस्रो कोरोनको हटस्पट बनेको बीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई होटलले खाना र खाजा खुवाउन समेत अस्वीकार गर्यो ।

कोरोना संक्रमितको उपचार गर्दा गर्दै आफै संक्रमित भएर होम आईसोलेशनमा बस्न पुगेका बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. विश्वबन्धु बगाले दम्पतिमाथि भएको दुव्र्यहार विर्सनलायक रहयो ।

तनहुँको भानु नगरपालिकाका रिपोर्ट नेगेटिभ आउँदा आउँदै पनि नर्स दिदीको घरमा शरण लिन पुगेका प्राविधिक कर्मचारी भाईसहित सपरिवारमा दूर्व्यवहार गरिदा स्वास्थ्यकर्मी एकजुट भएर प्रतिवादमा उत्रन बाध्य बने ।

मोफसलमा देखिएको यो प्रवृति संघीय राजधानी काठमाडौंमा पनि प्रवेश गर्दा शनिबार समग्र देशवासीको ध्यान खिचिन पुग्यो । काठमाडौंको बानेश्वरस्थित मिलनचोकका स्थानीयबासीले डाक्टर तथा स्वास्थ्यकर्मीहरु बसेको एक घर नै घेराउ गरेर समग्र स्वास्थ्यकर्मीका मनोबल गिराउन काम गरे ।

तर यता असमझदारीले भएको घटना अहिले साम्य भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । सरकारले स्वास्थ्यकर्मीमाथि बढ्न थालेपछि कारवाही गर्ने कडा चेतावनी पनि दिन बाध्य बन्यो ।

त्यसैले पनि कोरोनाको संवाहक मानेर स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेहरुले सोच्न जरुरी छ । कोरोना विरुद्ध लड्नेहरुले मैदान त्यागे भने रित्तो मैदानमा उभिने जिम्मेवारी कस्ले लिने ?

LIVE TV