७ भाद्र २०७७, आईतवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, ७ भदौ । प्रदेश २ मा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ८ सय ३२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीमा गरिएको परीक्षणमा ५७ जना महिला र २ सय ५५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज मात्रै पर्सामा सबैभन्दा बढी १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीमा ७९ जना, धनुषामा ३७ जना, रौतहटमा १७ जना, बारामा १३ जना, सप्तरीमा १२ जना, महोत्तरीमा ११ जना र सिरहामा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच, यस प्रदेशमा आज मात्रै थप ३ जनाको मृत्यु भएको छ । सिन्धुली घर भई हाल लालबन्दी, सर्लाहीमा बस्दै आएकी ३३ वर्षीया महिला, राजविराज नगरपालिका–७ का ७७ वर्षीय बृद्ध र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका ५८ वर्षीया पुरुषको कोरोनाबाट मृत्यु भएको विजय झाले बताए ।

योसँगै, यस प्रदेशमा कोरोना संक्तमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । हालसम्म यस प्रदेशमा उपचारपछि निको भएर ४ हजार २ सय ३७ जना आफ्नो घर फर्किएका छन् ।

LIVE TV