७ भाद्र २०७७, आईतवार
  • तारा आचार्य,

विराटनगर, ७ भदौ । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरी सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

उहाँले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभ मूल्यमा सेवा दिने बताउनुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरी सञ्चालन हुने प्रयोगशालाको सञ्चालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो ।

उहाँले प्रयोगशालाले महामारीका समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिने, विगतमा फैलिएको महामारी देखा परेमा पुन पहिचान गरिने र नयाँ रोगको परीक्षण गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने बताउनुभयो ।

प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गामा निर्माण गरिने भएको छ । मन्त्रालयले क्याम्पससँग जग्गाप्राप्ति सम्बन्धी आइतबार सम्झौता गरेको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

प्रयोगशलाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्ने भएको मन्त्रालयका सचिव कार्कीले जानकारी दिनुभयो ।

LIVE TV