७ भाद्र २०७७, आईतवार
  • तारा आचार्य

विराटनगर, ७ भदौ । सुनसरी मोरङ औद्योगिक कोरिडोर तर्फ निषेधाज्ञा र भारतको बिहारमा पनि लकडाउन भएका कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संकलन प्रभावित भएको छ ।दैनिक करिब १० करोड ४४ लाख रुपैया भन्सार राजस्व संकलन गर्नुपर्ने सो भन्सार कार्यालयले लकडाउन र निषेधाज्ञाका कारण दैनिक करिब ६ करोड रुपैया भन्सार राजस्व संकलन गरिरहेको प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारीले जानकारी दिनुभयो ।विराटनगर भन्सार कार्यालय भएर दैनिक करिब १ सय ५० वटा गाडीहरु नेपाल भित्रिरहेको छ ।
भन्सार कार्यालयका ७ जना कर्मचारी कोरोना संक्रमित भएपनि भन्सार कार्यालयले आयात निर्यातलाई नियमितता दिईरहेको छ । सो कार्यालयका ३ जना प्राविधिक अधिकृत र ४ जना नायब सुब्बा कोरोना संक्रमित भएका छन् । कर्मचारीहरु कोरोना संक्रमित भएपनि स्वास्थ्य सतर्कता अपनाएर कार्यालय संचालन गरिरहेको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयले साउन महिनामा लक्ष्य भन्दा ३ प्रतिशत बढी भन्सार राजस्व संकलन गरेको थियो । सो भन्सार कार्यालयलाई साउनका लागि २ अरब १८ करोड ५४ लाख रुपैया लक्ष्य तोकिएकोमा २ अरब २४ करोड ३२ लाख संकलन गरेको थियो ।

 

LIVE TV