७ भाद्र २०७७, आईतवार

काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल समयको सामना गर्न सबैलाई अपील गर्नुभएको छ ।

आइतबार (आज) अपील जारी सभापति देउवाले मुलुकका अधिकांश ठाउँमा लकडाउन र निषेधाज्ञा जारी रहेकोले जनजीवन कष्टकर बनेको उल्लेख गर्दै संयम र एकताका साथ आजको परिस्थिति सामना अपील गर्नुभएको हो ।

‘फ्रन्ट लाइन’ मा खटिरहेकाहरुको उच्च सह्राहना

सभापति देउवाले प्रतिकुल वातावरण र सामग्री अभावकाबीच पनि स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले काम गरिरहेका बताउनुभएको छ । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा बसेर काम गरिरहेकाहरुको प्रशंसा गर्नुभएको छ ।

त्यस्तै, अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोबैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गर्नुभएको छ ।

स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि उहाँले तीनवटै तहका सरकारहरुलाई सजग हुन अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्र्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो ।’

समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील

लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न उहाँले सरकारलाई अपील गर्नुभएको छ । पीसीआर परीक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पु¥याउन माग समेत गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु । खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।’

यसका साथै, उहाँले लाखौंको संख्यामा बिदेशमा रहेका नेपाली नागरिकहरुलाई कोरोना संक्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन अपील गर्नुभएको छ ।

त्यस्तै, सभापति देउवाले नेपाली जनसम्पर्क समितिहरु तथा देश बाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासहरुलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीहरुको हितमा ऐक्यवद्ध ढंगले कार्य गर्न आग्रह गर्नुभएको छ ।

LIVE TV