७ भाद्र २०७७, आईतवार

 – हरिशंकर शर्मा

वीरगंज (पर्सा), ७ भदौ । वीरगंजमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई वीरगंज हेल्थ केयर अस्थायी कोभिड़ अस्पतालमा उपचार गराई रहेकी वीरगंज महानगरपालिका वडा नं ११ बस्ने ५६ बर्षीय महिलाको शनिबार साँझ ७:३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासमा समस्याले ग्रसित महिलाको वीरगंज हेल्थ केयर अस्पतालको आई.सि.यू. मा राखेर उपचार भई रहेकोमा स्वास्थ्य अवस्था बिग्रिदै जादा २४ घण्टा यता भेण्डिलेटरमा राखेर उपचार गरिएपनि बचाऊँन नसकिएको बताइएको छ ।

मृतक महिलाको सावन २२ गते नै स्वाब संकलन गरि पि.सि.आर. परीक्षण गर्दा सावन २४ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिला सहित वीरगंजमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

कोरोना संक्रमणबाट वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा हालसम्म ३६ जनाको मृत्य भइसकेको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको मात्रै २९ जना, बाराका ५ जना तथा रौतहटका २ जना रहेका छन् । पर्सामा पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेका साथै मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

मृतक महिलाको कुनै ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

LIVE TV