६ भाद्र २०७७, शनिबार

काठमाडौं, ६ भदौ । कोरोना संक्रमणको दर उच्च बनेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाबासीलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण मात्रै समाधानको उपाय नभएको भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

काठमाडौं महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको बताउँदै मेयर शाक्यले कोही पनि त्रसित हुनु नपर्ने तर, सावधानी सबैले अपनाउनुपर्ने बताउनुभयो । सबैले सतर्कता नअपनाएको अवस्थामा थप भयावह हुनसक्ने पनि मेयर शाक्यले बताउनुभयो ।

त्यस्तै, यस अगाडि पनि काठमाडौं उपत्यकाबासीले लामो समयसम्मको लकडाउनलाई पूर्णपालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउनुहुँदै जारी निषेधाज्ञाको पनि पूर्ण पालना गर्न आग्रह गर्नुभयो । कोरोना नियन्त्रण तथा न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकार निरन्तर लागिपरेको पनि जानकारी दिनुभयो ।

पीसीआर औषधि नभएको पीसीआरले कोरोना रोकथाम नगर्ने बताउँदै आफै सजग बन्न उहाँले सबैलाई आग्रह गर्नुभयो । यसका साथै, उहाँले काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा १० वटा कन्ट्याक्ट ट्रेसिङ टोली बनाएर काम गरिरहेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV