
जनकपुरधाम, भदौ ६ गते । धनुषाको क्षिरेश्वर नगरपालिकामा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन् । क्षिरेश्वर नगरपालिका वडा नम्बर १० हारसरमा दुई समूहबीचको फूटबल खेलपछि भएको झडपमा परी उनीहरु घाइते भएका हुन् ।
हारसरको पूरबारी टोल तथा पछबारी टोल बीचको फूटबल खेलपछि खेलाडीहरु पानी खाई रहेको समयमा भनाभन् भएपछि झडप भएको बताईएको छ । झडपमा परी हारसर पछबारी टोलका पूजन चौधरी, दीप नारायण चौधरी, विरेन्द्र चौधरी, रामकरण चौधरी, विनोद साह र अभिषेक चौधरी रहेका छन् ।
घाइतेमध्ये एक जनालाई उपचारका लागि धरान रेफर गरिएको छ भने बाँकीको उपचार स्थानीय स्वास्थ्य संस्थामा भईरहेको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयका सई मोहम्मद मुस्तुफाले जानकारी दिनुभयो ।
कुटपीटमा संलग्न युवाहरु अहिले फरार रहेको उहाँले जानकारी दिनुभयाे। सई मुस्तुफाले भन्नुभयाे- ‘गाउँको दुई टोलबीचको विवाद रहेकोले झन उग्र रुप लिन नदिनका लागि संयमता साथ घटना सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ ।’ उहाँले घटनाको अनुसन्धानको क्रममा दोषीलाई चाँडै नै पक्राउ गर्ने बताउनुभयो।