६ भाद्र २०७७, शनिबार
  • भगतराम थारु,

नेपालगञ्ज, ६ भदौ । नेपालगञ्ज उपमहानगरपालिका दुई महिनाभित्र झिलिमिली शहरको रुपमा परिचित हुने भएको छ । पूर्वशहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले ‘हाइमास्ट लाइटको शिलान्यास गर्दै नेपालगञ्ज उपमहानगरपालिकालाई २ महिनाभित्र झिलिमिली हुने उद्घोष गर्नुभएको हो ।

शहरी विकास तथा भवन डिभिजन विभागको संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले नेपालगञ्जलाई रातको समयमा झिलीमिली पार्ने हाइमास्ट जडान गर्ने आयोजनाका लागि बजेट विनियोजन गरिएको जानकारी गराए ।

उनले भने, ‘अघिल्लो वर्षको बजेटमै ठेक्का भएपनि कोरोनाका कारण काम गर्न असहज भएको थियो । अहिले ठेक्काको म्याद ६ महिना थप गरेर काम धमाधम भइरहेको छ ।’

आफू मन्त्री हुँदा राईले नेपालगञ्जमा ३९ वटा र कोहलपुर नगरपालिकामा १३ वटा हाइमास्ट जडान गर्ने कार्यक्रम स्वीकृत गरिएको जानकारी गराए । त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिका भित्र उपयुक्त स्थानमा समेत जडान हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।

मापदण्डभित्र जडान हुनपर्ने लाइट नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नै तरिकाले जडान प्रक्रिया सुरु गरेको उनले बताए । संघीय आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख विजयकेशर खनालले हरेक वडामा कम्तीमा एक÷एक वटा पर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाका ३९ स्थानमा हाइमास्ट जडान भइरहेको बताए ।

२०७६ सालमा नेपालगञ्जका हरेक वडामा जडान गरिने गरी सम्झौता भएको निमित्त प्रमुख खनालले जानकारी गराए । हाइमास्ट जडानका लागि आयोजनाले ६ करोड ४० लाख ३२ हजार २ सय ८२ रुपैयाँ बजेट रहेको उनले जानकारी गराए ।

दुई महिनाको अवधिमा अब नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका झिलिमिली शहर देखिने उनले जानकारी गराए । चोक र बस्ती भएको स्थानलाई लक्षित गरेर जडान हुदै गरेको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV