६ भाद्र २०७७, शनिबार
  • दान बहादुर बुढा

मुगु, ६ भदाै । जिल्लामा रहेका खाद्यान्न तथा व्यापार कम्पनी शाखाका गोदाम र खाद्य डिपोहरुमा खाद्यान्न मौज्दात नभएपछि तत्कालको लागि मुगु जिल्लाभरिको लागि ६ हजार क्विन्टल खाद्यान्न माग गरिएको छ ।

गएको शुक्रबार बसेको जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हवाइ मार्ग तथा सडकमार्गबाट भए पनि छायानाथरारा नगरपालिकामा २ हजार क्विन्टल, सोरुमा १५ सय क्विन्टल, खत्याडमा १५ सय र मुगुमकार्मारोङ गाउँपालिकामा १ हजार क्विन्टल खाद्यान्न तत्काल उपलब्ध गराउन माग गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

‘वर्षाका कारण कर्णाली राजमार्ग धेरै ठाउँमा अवरुद्ध भएकाले हवाइ मार्गबाट खाद्यान्न ढुवानी गर्नुको विकल्प छैन । छिटोभन्दा छिटो खाद्यान्न ढुवानीको व्यवस्था गरिदिनको लागि सरोकारवाला निकाय, प्रदेश सरकार सबै ठाउँमा जानकारी गरिसकेका छाैँ,’ प्रजिअ निरैलाले भने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका अनुसार गत आर्थिक वर्षमा ढुवानी गरेको सबै चामल बिक्री गरिसकिएको छ ।  यो आवको खाद्यान्न ढुवानी गर्ने प्रक्रियाअनुसार ठेक्का प्रक्रिया अघि बढाइएकाे छ । गमगढी बजारमा रहेको कम्पनीको शाखा कार्यालयमा रहेको गोदाममा ५ सय क्विन्टल चालु आर्थिक वर्षको खाद्यान्न मैज्दात रहेको छ । उक्त खाद्यान्न दैवी प्रकोप ,आपत-विपद परेपछि मात्र बितरण गर्ने गरी गत साउन महिनाको २८ गते बाट सर्वसाधारण हरुको लागी खाद्यान्न बितरण बन्द गरिएकाे कम्पनीका प्रबन्धक कर्णबहादुर रावलले बताए । उनका अनुसार मुगुुका ५ वटा खाद्य गोदाम रित्तिएका छन् ।

यता, कर्णाली राजमार्ग अन्तरगत दर्जनाैँ ठाउँमा सडक भत्केको हुँदा समयमै खाद्यान्न सामान लगायत अन्य सामान ढुवानी गर्न समस्या भएपछि गमगढी बजार लगायत खत्याडमा रहेको सेरी, जाम, रातापानी, सोरुको तारापानी, सोरुकोट, धैन, मुगमकामारोङ्गको पुलु छाईल बजारमा पनि खाद्यान्न नभएको मुगु उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV