६ भाद्र २०७७, शनिबार
  • बालबिक्रम कार्की

रौतहट, ६ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सरुवा भएर आउन लागेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउन र उनको सरुवा बदर गराउन भन्दै वडाअध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

जम्मा दशवटा वडा रहेको जिल्लाको चन्द्रपुर नगरपालिकाका नौ जना वडाअध्यक्ष तथा अन्य नौ जना कार्यपालिका सदस्यहरूले सामूहिक ज्ञापन पत्र बुझाएका हुन् । मन्त्रालयको साउन १९ गतेको पत्रअनुसार चन्द्रपुर नगरपालिकाको कार्यालयमा सरुवा भई आउन लागेका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीको सरुवा बदर गराउन उनीहरुले नगरप्रमुख रामचन्द्र चौधरीलाई धम्कीपूर्ण ज्ञापन पत्र बुझाएका हुन् ।

सो ज्ञापन-पत्रमा हाल काम चलाउ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कृष्ण सिग्देलबाट मात्र नगरको विकास निर्माण सम्भव भएको भन्दै नयाँ कार्यकारी अधिकृतलाई हाजिर गराए अन्यौल छाउने भएकाले उनलाई तत्काल हाजिर नगराउन नगर प्रमुखलाई दबाव दिइएको छ । सो विज्ञप्तिमा नयाँ कार्यकारी अधिकृतलाई हाजिर गराएमा चन्द्रपुर नगरपालिकाको विकास निर्माण कार्यमा पुग्न जाने असरको विषयमा नगर प्रमुख स्वयं जिम्मेवार हुनुपर्ने भन्दै धम्की दिइएको छ ।

उनीहरुले जिल्लाकै १८ वटा नगरपालिकामध्ये चन्द्रपुर नगरपालिका सबैभन्दा उत्कृष्ट रहेको स्वः घोषणा पनि गरेका छन् । यसको बोधार्थ भने उनीहरुले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा दिएका छन् ।

सो ज्ञापन पत्रमा ‘सामाजिक विकास कार्यमा शिक्षा, स्वास्थ्य, पशु र कृषिको कार्यमा कामचलाउ प्रमुख प्रशासकिय अधिृकतबाट सशक्त ढङ्गले अघि बढिरहेको र प्रशासनिक कार्यमा चुस्त, दुरुस्त रही रहेको अवस्थामा हाल आएर नयाँ प्रमुख प्रशासकिय अधिृकत पुन हाजिर हुन आउने भन्ने सुनिएको हुँदा त्यस्ता खालका ६-६ महिनामा प्रमुख प्रशासकीय अधिकृत फेरिने परम्पराको अन्त होस् भन्नका खातिर तत्काल नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउन’ चन्द्रपुर नगरपालिकाका प्रमुख नगर प्रमुखलाई भनिएको छ ।

यसरी ज्ञापन पत्र बुझाउनेमा चन्द्रपुर नगरपालिकाका वडानम्बर १ का अध्यक्ष बीर बहादुर राना, वडानम्बर २ का अध्यक्ष दुत बहादुर थिङ्ग, वडानम्बर ३ का अध्यक्ष बोधनाथ देबकोटा, वडानम्बर ४ का अध्यक्ष अमर आले, वडानम्बर ६ का अध्यक्ष खडक कुश्वाहा, वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेती, वडानम्बर ८ का अध्यक्ष पासपात चौधरी, वडानम्बर ९ का अध्यक्ष गोबिन्द दुलाल, वडानम्बर १० का अध्यक्ष जयराम चौधरी यसैगरी कार्यपालिका सदस्य काजीमान माझी, सुना कार्की, प्रेमा कुमार तिमल्सिना, दुर्गा आचार्य, बिन्दा राम, उपेन्द्र राम, शान्ति बिक, सरस्वती खुलाल रहेका छन् ।

स्थानीयको आशंका

यसअघि गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गर्दै आफूलाई अब्बल सावित गरेका कार्की सो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएमा आफूहरुको मनलाग्दी नचल्ने हुँदा उनीहरु आत्तिएर उनलाई हाजिर नगराउन लागिपरेको स्थानीयको बुझाइ छ । कार्कीले केही समय जिल्ला सम्न्यवन समितिको प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । यसरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदै उनीहरुले ज्ञापन पत्र बुझाउनुमा ठुलो चलखेल भएको समिति र वडाअध्यक्षहरुले गरेको आर्थिक हिनामिनाहरु नमिल्ने डरले उनीहरुले यो कदम चालेको हुनसक्ने स्थानीयको आशंका रहेको छ ।

आफुले आफैलाई उत्कृष्ट नगरपालिका घोषणा गरेका जनप्रतिनिधिहरुको कार्यप्रति स्थानीय भने निकै असन्तुष्ट रहेका छन् । उनीहरुले जनप्रतिनिधिहरुले कुनै पनि कार्य जनचाहाना बमोजिम नगरेको र नगरमा भए-गरेका विकास निर्माणका कार्यहरु पनि गुणस्तरीय, दिर्घकालिन नभएको गुनासो गर्ने गरेका छन् । स्मरण रहोस्, चन्द्रपुर नगरपालिकाका वडाअध्यक्ष र कार्यपालिकाका सदस्यले तीन आर्थिक वर्ष बितिसक्दा समेत सार्वजनिक सुनवाई र सामाजिक लेखापरीक्षण गराएका छैनन् ।

‘पार्टीको निर्णय भनिएकाले हस्ताक्षर गरेका हाैँ’

प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर नगराउन दवाव मूलक ज्ञापन पत्र बुझाएको विषयमा न्यूज २४ ले केही वडाअध्यक्षहरुसँग कुरा गर्दा आफुहरुले आफ्नो इच्छालेभन्दा पनि पार्टीको निर्णय भनेकाले हस्ताक्षर गरेको बताएका छन् ।

नाम नलेख्ने शर्तमा नेकपाबाट निर्वाचित एक वडाअध्यक्षले कार्यपालिका अग्रज नेताहरु आएर आफुलाई यो निर्णय पार्टी र कार्यपालिकाको संसदिय दलको भएकाले हस्ताक्षर गरेको बताए । उनले आफुलाई यसमा कुनै चासो नभएपनि आफुलाई पार्टी तथा संसदिय दलको निर्णय भनिएकाले मात्र हस्ताक्षर गरेको स्पष्टिकरण दिए ।

यसरी अन्य कुरामा खासै ऐक्यवद्धता नजाउने नेकपा र नेपाली काँग्रेसका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरु यो विषयमा एकजुट भएर अगाडि बढ्नुमा ठुलै खिचडी पाकेको हुनसक्ने स्थानीयको भनाइ छ ।

कार्कीले गराए अन्तै सरुवा

चन्द्रपुर नगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई नरुचाएपछि उनले गएको भाद्र ३ गते नै बारा जिल्लाको निजगढ नगरपालिकामा सरुवा गराएका छन् । उनले आफूलाई सो नगरपालिकामा आए वडाअध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुको पूर्ण असहयोग रहने भन्दै हाजिर नहुँदै निजगढ नगरपालिकामा सरुवा गराएको बुझिएको छ ।

साउन १९ गते नै उनको चन्द्रपुर नगरपालिका सरुवा भएको भए पनि जिल्लामा जारी निषेधाज्ञाको कारण उनले हाजिर भने गरेका थिएनन् ।

निषेधाज्ञाको कारणको नगरपालिकाको कार्यालय बन्द रहेकाले खुलेलगत्तै हाजिर गर्ने योजना कार्कीको रहेको थियो । तर सो नगरपालिकामा आएमा आफूलाई सबै मिलेर असफल बनाउनसक्ने भन्दै उनले हाजिर नहुँदै निजगढ नगरपालिकाको प्रमुख प्रशासकिय रुपमा सरुवा गराएको श्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV