६ भाद्र २०७७, शनिबार
  • नारायण अर्याल

माहिली आज निकै खुशी छे । खुशीले अनुहार धपक्कै बलेको छ ।  ओठमा मुस्कान छ ।  घरमा आउनेहरूसँग पनि मन फुकाएर बोलेकी छ ।  केही घण्टाअगाडि र अहिलेको उसको बोलीको शैली नै फेरिएको छ ।  मूल बाटोछेउको घर ।  बाटोबाटै उसलाई  देख्नेहरू पनि छक्क छन् ।

माहिलीको अनुहारमा खुशी छ, पल्लो गाउँको धनेले साथीहरूलाई सुनायो ।  उसको अनुहारको खुशीको तरङ्ग वल्लो पल्लो तल्लो माथिल्लो सबै गाउँमा फैलियो ।  एक एक गरी मान्छेहरू जम्मा भए ।  आँगनमा नअटाएर मान्छेहरू  बाटोसम्मै फैलिए ।

माहिली मात्रै होइन, माहिलाका बा आमा पनि खुशी छन् ।  माहिलो जन्मिँदा बरु उनीहरू त्यति खुशी थिएनन्, जति  ४० वर्षपछि छन् । माहिलाकी आमाले ३ भाइ छोरा जन्माइन् ।  माहिलो जन्मिएको एक वर्ष पुग्दा नपुग्दै त्यसको भाइ जन्मियो ।  आमाको लाम्टासमेत बाँडेर चुस्नुपर्ने भयो ।  बाउले सम्पत्ति जोडे भने अंश बाँडेर खाने हुन्,  मसँग भएको लाम्टा बाँडेर चुसाउँछु-  माहिलाकी आमाले भन्थिन् ।

बिस्तारै दूध सुक्न थाल्यो । आमाको लाम्टा कान्छो एक्लै चुस्न थाल्यो । माहिलाको  भाग खोसियो ।  गर्भे दूध चुसेको माहिलो डेढ वर्ष नपुग्दै आमाको लाम्टाबाट पनि लखेटियो ।  बाउले बटुलेर ल्याउने मकै पिठो जे हुन्थ्यो त्यही खाएर माहिलो हुर्कियो, जसरी उसका दाइ र दिदीहरू हुर्केका थिए ।

आमाको लाम्टोबाट पनि लखेटिएको माहिलो अहिले बा-आमाको एक्लो छोरो हो ।  माहिलाका दाजु र भाइ घाँसपात समेत गर्न नथाल्दै एक्लो बनाएर गए । जन्मिँदा माहिलो छोरो भए पनि ऊ अहिले एक्लो छोरो हो ।  जेठो र कान्छो पनि उही हो ।  बा-आमालाई नातिनातिनी देखाउने पनि माहिलो नै हो ।

…….

घरको नाममा एउटा झुप्रो ।  जग्गाको नाममा चार हात फराकिलो आँगन ।  तैपनि  माहिलाका बा खुशी थिए ।  छोरा धेरै हुने मान्छे धनी हुन्छ भन्ने सुनेका थिए माहिलाका बाले । त्यसैले त ४ छोरी पछि भएपनि  ३ छोरा जन्माएका थिए । ३ छोरा जन्मिएपछि बुढा बुढी खुशी भएका थिए ।  धनी भएको ठानेका थिए। तर, जेठो र कान्छोले बेलैमा संसार छोडेपछि उनीहरू एकाएक गरीब भए ।  खुशी हरायो ।  धित मरुन्जेल लाम्टो चुस्न समेत नपाएको माहिलो नै अब त्यो परिवारको आशा बन्यो ।  अब यसैले जे गर्छ गर्छ- माहिलाकी आमाले आफन्तसँग भन्थिन्  ।

कपडा सिलाएर र निमेक गरेर ४ छोरी र १ छोरो हुर्काएको बलेले सबैको बिहे पनि गरिदियो ।  बिहे पनि के भन्नु र ? छोरीहरू भागेरै गए ।  माहिलाले पनि पल्लो गाउँबाट माहिलीलाई ल्यायो । बलेका बुढा  बुढीले टीका फुकाइ दिए ।  सबैको घर बस्यो ।

……

‘ठूलो भएसी धनी बन्छु,’ माहिलाले सानैदेखि भन्थ्यो ।  माहिलाले यसो भन्दा बा आमा पनि मख्ख पर्थे ।  बाँचेको एउटै छोरोले यसो भन्दा उनीहरू अनेक सपना देख्थे र रामाउथे ।  घरिघरि भन्थे – धनी हुन धेरै छोरा होइन, हाम्रो माहिलो जस्तै छोरो हुनुपर्छ ।

माहिलाले बा बलेकै ‘लाइन’ पछ्यायो । स्कूल जानु भन्दा कपडा सिलाउने मेसिन घुमाउन थाल्यो ।  त्यो त्यही मेसिन थियो जुन बलेका बाले बलेलाई दिएर मरेका थिए। माहिलाले भने बले नमर्दै त्यही मेसिन चलाउन पायो । भाग्यमानी  रैछ माहिलो । मेसिन भाग लगाउनै नपर्ने भो ।

बलेले भन्दा माहिलाले राम्रो सिलाउन थालेपछि  गाउँमा नाम कमायो ।  पहिले मेसिन बोकेर अर्काको घर घरमा जाने माहिलाको अवस्था फेरियो ।  अब मान्छेहरू कपडा बोकेर माहिलाकै घरमा आउन थाले । बलेका बुढा बुढी दङ्ग पर्न थाले  ।

कपडा सिलाएरै घर चलाउन थालेपछि माहिलाका बा आमा त खुशी हुन थाले ।  तर खोइ माहिलाको अनुहारमा चमक हरायो ।  बाको जस्तै धनी बन्ने उसको चाहना पूरा भएन । गोठमा पालेका भैंसी बाख्रा थारै रहे तर, माहिली भने वर्षैपिच्छे  गर्ववती हुन थाली ।  छोराको आशामा ६ छोरी जन्मिए ।  छोरीले घर भरिए माहिलाको मन भरिएन ।  माहिलीलाई पनि छोरा जन्माउने चाहना थियो र त वर्षेनी सुत्केरी हुँदा पनि कुनै गुनासो गरिन । छोरा धेरै भए धनी भइन्छ भन्ने उसको मनमै घुसेको थियो । घरभरी छोरी मनभरी छोरा । तर के गर्नु ? माहिलीले छोरा जन्माउनै सकिन ।

………

‘म लाहुर जान्छु,’ बिहानै झोला तयार पारेपछि माहिलाले माहिलीलाई सुनायो ।

‘अचानक के भयो ? साना साना छोरीहरू छोडेर एक्लै किन जानु पर्‍यो लाहुर ?’ बेखुसी हुँदै माहिलीले सोधी ।

‘यहाँ भन्दा लाहुरमा बढी पैसा कमाइन्छ रे, छोरा नभए पनि अब पैसाको धनी बन्नु पर्‍यो,’ माहिलाले जवाफ दियो र झोला टिपेर टाप कस्यो ।

लाहुर गएपछि  डाक्टरलाई सोध्छु, डाक्टरले त जानेको होला नि छोरा पाउने तरिका- माहिलाले  उपाय सोच्यो ।

लाहुर पुगेपछि पनि माहिलाको समस्या समाधान भएन ।  गाउँकै एकजनाले भेटाएको डाक्टरले उसलाई झन निराश बनायो । पैसा कमाउने भन्दा छोरो जन्माउने उपाय खोज्न लाहुर पसेको माहिलो केही महिनामै घर फर्क्यो ।

‘आयौ ? निराश छौ त ।  थाकेर हो कि बिरामी पर्यौ ?’ देख्नासाथ माहिलीले सोधी ।

‘होइन केही भएको छैन,’ झर्किलो पारामा माहिलोले जवाफ दियो ।

………

माहिलो फर्केको थाहा पाएर गाउँले खुशी भए ।  नयाँ लुगा सिलाउन पल्लो गाउँ जानुपर्ने गाउँलेलाई सजिलो भयो ।  तर माहिलो भने खुशी छैन । पहिले लुगा लिएर मान्छे आउँदा खुशी हुने माहिलो अचेल झर्किन थालेको छ । पहिले जस्तो मिलाएर सिलाउन पनि छोडेको छ ।  के भएको छ माहिलालाई ? गाउँमा कुरा चल्न थाल्यो ।

‘गाउँले कुरा काट्छन्, घरमा पनि राम्रो बोल्दैनौ, होइन के भो तिमीलाई ?’ माहिलीले एक साँझ सोधी ।  जवाफ नदिई हिंडेको माहिलो मध्यरातमा रक्सीले मातेर आयो ।

नशामा मान्छे साँचो बोल्छ रे ! के भएको हो आज नरिसाई सोधेर पत्ता लागाउँछु, माहिलीले उपाय निकाली ।

छोरीहरू निदाएपछि माहिलीले सोध्न थाली । अनि बल्ल ‘मेरो भाग्यमा छोरा छैन रे ! डाक्टरले भनेको,’ माहिलाले पीडाको पोको फुकायो ।

माहिलाको जवाफले माहिली खुशी त भइन, तर फेरि बच्चा बोक्नुपर्ने समस्या हट्यो भन्दै लामो सास फेरी ।

‘अब के गर्छौ त कर्ममा नभाको कुरा खोजेर भो त ? छोरी छन् तिनैको मुख हेरेर चित्त बुझाम्ला,’ माहिलालाई सान्त्वना दिन खोजी ।  ‘तँ पनि यसै भन्छेस् भने भैगो  त’ भनेर माहिलो निदायो ।

………

‘सामात् सामात्, माहिलालाई सामात् !’ एक साँझ गाउँभरका मान्छेले चिच्याए ।  माहिलो हातमा  नाम्लो लिएर भाग्दै थियो ।  माहिली पनि रुँदै  पछ्याउँदै थिई ।  झण्डै  एक किलोमिटर पर केटाहरूले घेरा हालेर माहिलालाई रोके ।  कुनैबेला सिकेको करातेको कला त्यसैबेला देखायो माहिलाले ।  दुईजनालाई ढाले पनि अरुले जसोतसो समाते र घर फर्काए ।  निकैबेर बर्बरायो ।  माहिली सहित सबैलाई भन्नु नभन्नु भन्यो ।  बिरक्तिएर हिंडेको मान्छेले अरुलाई किन पो भाउ दिन्थ्यो र ! आफ्नै जिन्दगीदेखि भाग्न खोजेको मान्छे अर्काको जिन्दगीको बारेमा  किन पो चासो राख्थ्यो र ! आफ्नै संसार अँध्यारो देखेको मान्छेले अर्काको उज्यालो संसारको किन वास्ता गर्थ्यो र ! आखिर ऊ  अरुसँग नभई  आँफैसँग भागेको न थियो ।  अर्काको कुरा सुन्दै नसुनी बर्बराइ मात्र रह्यो ।  माहिली रोइरही ।

माहिलीको आँशु सुक्न पाएकै थिएन, माहिलो फेरि मच्चियो ।  घरको नाममा रहेको झुप्रोको छानोमा चढेर आफ्नो अन्तिम दिन रहेको घोषणा गर्‍यो ।  माहिलाको हातमा केही थिएन ।  ऊ हाम फाल्ने तयारीमा थियो ।  माहिली आँगनमा उभिई ।  गाउँलेलाई बोलाई ।  गाउँले नआउँदै आँगनमा हाम फालेको माहिलो अझै रोकिएन ।  आँगनबाट बारीमा हाम फाल्यो ।  धन्न, गाउँले आइपुगे र छोपे । दोश्रो पटकमा पनि आफ्नो इच्छा पूरा नभएपछि माहिली र गाउँले सबैमाथि खनियो माहिलाे ।

‘पटकपटक किन यसो गर्छन् मेरो बुढा ? लौन केही खोजी गरिदिनु पर्‍यो,’ माहिलीले गाउँले सामु बिलौना गरी ।  रुने र बिलौना पोख्ने बाहेक उस्को अरु उपाय पनि त थिएन । माहिलालाई चाहिएको छोरो, उसले जन्माएको छोरी ।  के म एक्लै छोरो जन्माउन सक्छु ? सबैका सामु दुखेसो गरी ।  भगवानले नै नदिएपछि बल गरेर हुँदो रहेनछ ।

माहिलो त्यसरी मच्चिनुको कारण गाउँलेले बल्ल चाल पाए । बलेका बुढाबुढी  सुँक्क-सुँक्क गर्न थाले ।  नाति खेलाउने चाहना उनीहरूको  पनि नभएको होइन ।  तर दैवले नदिएपछि हुँदैन, छोरा बुहारीलाई सम्झाउन थाले । नभएको कुरामा चित्त दुखाउनु  भन्दा भएको कुरामा खुशी हुनुपर्छ भन्छन्, बले बोल्यो – नातिको आशमा छोरो गुमाउनु मुर्ख्याइ हुन्छ ।  बुढीले सही थामी ।

………

पाइन्ट सिलाएको एक हजार, सर्टको ५ सय… । माहिलाले  कपडा सिलाउँदा लाग्ने खर्चको सूची बनाएर भित्तामा टाँस्यो ।  महिला-पुरुष दुवैको लुगा सिलाउन पोख्त माहिलो अब फेरि लयमा फर्कियो ।

तीज लाग्दै गर्दा कपडा सिलाउन ल्याउनेको भीड बढ्न  थाल्यो  ।  लकडाउनले गर्दा हो, नत्र त यहाँ एक छिन फुर्सद हुँदैन, सिलाएको लुगामा आइरन दल्दै बोल्यो ।  माहिली तयारी लुगामा टाकसाक लगाउनै व्यस्त  ।  यत्तिको काम आए त छोरी पाल्न गाह्रो हुँदैन, भविष्य सुनाई ।

रक्सी खान छोडेर माहिलो बिहानैदेखि काममा लागेको देख्दा गाउँले  पनि छक्क छन् ।

‘आज काम छैन, दिनभर घरमा बस्ने हो,’ माहिलाले  बिहानै  योजना सुनायो ।

‘त्यसो भए मासु ल्याएर पकाउँछु,’ माहिलीले केटाकेटी खुशी पार्न खोजी ।

ड्याम्म आवाजले माहिली तर्सी । गोठको पल्लो छेउ जुठेल्नामा भाँडा मस्काउँदै गरेकी माहिली जुरुक्कै उठी र घरतिर आई ।  कसले ढोका लगायो ? माहिलाले  केही उपद्रो पो गर्न लागेको हो कि ? आँगन नटेक्दै उसको मन भारी भो ।  ढोका खोल्न खोजी, माहिलालाई बोलाई ।  न माहिलो बोल्छ, न ढोका खुल्छ ।

ढोकाको सानो चरबाट चिहाई ।  माहिलीको सातो उड्यो ।  गाउँलेलाई  चिच्याउँदै ढोका हान्न थाली । गाउँले आउनु र ढोका फुट्नु सँगै भयो ।  कसैले पुलिस बोलाउन थाले, कसैले दाजुभाइ ।

गाउँलेलाई पन्छाउँदै माहिलोसामु पुगेकी माहिलीले अरु केही देखिन ।  देखोस् पनि कसरी ? उसको संसार नै त्यही थियो, जीवन नै त्यही ।  एक हातले माहिलालाई समाती र अर्को हातले दलिनमा बांधेको डोरी ।  जोडले तानी ।  डोरी चुँड्यो ।  माहिलो माहिलीको काखमा लड्यो ।  डोरी नचुँडेको भए माहिलीको जिन्दगी चुँड्ने थियो । आवेशमा माहिलीले चुँडाएको डोरीले माहिलो त बाँच्यो नै माहिलीको जीवनको आशा पनि जोगियो ।

एकै छिनमा  माहिलाले दोहोरो सास फेर्न थालेपछि माहिलीको बढेको सासको रफ्तार पनि कम हुँदै गयो ।

यो त तेश्रो पटक हो, अब त यस्तो नगर्लान् नि ? भविष्यप्रति ढुक्क हुन खोजी ।

तीन पटक बल गर्दा पनि भएन भने कहिल्यै हुँदैन रे ! उसले सुनेकी थिई ।  गाउँले बुढापाका पनि त्यसै भन्छन् ।  अरुबेला गाउँलेले बचाए, यसपाली ऊ आँफै ।

माहिलो फेरि बाँच्यो ।  गाउँलेले तत्कालै अस्पातल पुर्याए ।

‘हल्का मानसिक रोग देखियो, औषधि खुवाउनु निको हुन्छ,’ डाक्टरले माहिलीलाई सान्त्वना दियो ।

जाँदा सुतेर गएको माहिलो फर्कंदा ठमठम हिँडेर फर्कियो ।  अरुलाई देख्दा माहिलो लजायो तर माहिलीको अनुहार उज्यालो थियो । युद्ध जित्दा भन्दा जिन्दगी जित्दा बढी खुशी हुने रहेछ । माहिलीको अनुहारले भनिरहेको थियो ।

माहिलो अस्पतालबाट फर्केपछि घरमा आउनेहरूले एकातिर माहिलीको अनुहार नियाल्थे त अर्कातिर माहिलाको घाँटीको नीलडाम ।

-भदौ २०७७, स्याङ्जा

प्रतिक्रिया दिनुहोस्

LIVE TV