५ भाद्र २०७७, शुक्रबार

काठमाडौं, ०५ भदौ । सरकारले बेड अभाव भएको भन्दै लक्षण देखिएका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लक्षण देखिएका कोरोना संक्रमितहरुलाई मात्रै तोकिएको अस्पतालमा भर्ना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो ।

विशेषगरी कोरोना संक्रमितको वृद्धिदर उच्च भएका कारण अस्पतालका बेड अभाव भएका कारण हुने देखिएकाले यो निर्णय लिनु परेको उहाँले बताउनुभयो । कोरोना भाइरस पुष्टि भएका तर लक्षण नदेखिएका संक्रमितलाई काठमाडौंमा तोकिएका अस्पतालका आइसोलेशन सेन्टर र कतिपयलाई अवस्था हेरेर हाेम आइसोलेशनमा राखिने निर्णय भएको बताउनुभयो ।

संक्रमितहरुको अबस्था हेरेर काठमाडौं सहित मुलुकभरका धेरै स्थानमा आइसोलेशन सेन्टर निर्माण गरिने उहाँले बताउनुभयो । काठमाडौं उपत्यकामा मात्रै ६ हजार आइसोलेशन बेड निर्माण गरिने र स्थानीय तहले रेखदेख गर्ने गरी तयार हुने निर्णय भएको हो ।

काठमाडौं उपत्यका बाहेकका स्थानहरुमा भने प्रदेश सरकारको मुल्याङ्कन अनुसार आवश्यक संख्यामा आइसोेशन सेन्टर निर्माण हुनेछन् ।

बिहीबारको मन्त्रीपरिषद बैठकमा स्वास्थ्य मन्त्रालयलाई आईसीयू, भेन्टिलेटर र अक्सिजनको ब्यवस्था गराउन भनिएको छ । यसअघि पनि सरकारले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड छुट्टयाउन निजी तथा सामुदायिक अस्पताललाई भनेका थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV