५ भाद्र २०७७, शुक्रबार
  • रामगोपाल तमखु,

भक्तपुर, ५ भदौ । सरकारले हिजो बिहीबारबाट लागू गरेको निषेधाज्ञा आज दोस्रो दिन उपत्यका प्रबेशको पूर्वी नाका साँगा सुनसान बनेको छ । लकडाउनका समयमा पनि दैनिक सयौं सवारी आवतजावत हुने साँगा नाकामा भने निषेधाज्ञा जारीसंगै सुनसान बनेको हो ।

उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका भित्रिने नाकाबाट अत्यावश्यक सामग्री जस्तै खाद्यान्न, तरकारी, स्वास्थ्य सामग्री औषधि, एम्बुलेन्स, मलामी जाने सवारी साधनलाई मात्र प्रवेश गर्न दिइएको छ । अत्यावश्यक बाहेक अन्य सामग्रीसहित उपत्यका प्रवेश गर्ने क्रममा रहेका सवारी साधनहरुलाई नाकाबाटै फिर्ता पठाउने गरिएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

आज हरितालिका तीज गत बर्षहरुमा शिवालयहरुमा नेपाली हिन्दू नारीहरुको भीड लाग्ने गथ्र्यो । तर यो बर्ष उपत्यकामा कोरोना भाइरस कोभिड १९ संक्रमणको त्रासका कारण भक्तपुरको प्रसिद्ध मन्दिरहरु दत्तात्रय मन्दिर, यातु महादेव, डोलेश्वर मन्दिर सुनसान छन् ।

उपत्यकामा हिजोबाट निषेधाज्ञा जारी गरेसँगै अति आवश्यक काममा बाहेक घर बाहिर हिडडुल गर्न समेत निषेध गरिएको छ । त्यसैले पनि तीज मनाउन घर बाहिर नगई निषेधाज्ञालाई पालना गरी ब्रतालुहरुले तीज मनाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV