५ भाद्र २०७७, शुक्रबार

काठमाडौं, ५ भदौ । सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न क्वारेन्टाइन होटल तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको निर्णायनुसार विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्ने गरी नेपालमा होटल तोकिएका हुन् ।

निर्णयानुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । पाँच तारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ ।

चार तारेमा बस्नेले दिनको ६ हजार, तीनतारेमा ५५ सय, दुईतारेमा बस्नेले ३५ सय र एकतारेमा बस्नेले २५ सय रुपैयाँ तिनुपर्ने तोकिएको छ । यसमा खाना खाजाको खर्च पनि जोडिएको छ ।

सरकारले सार्वजनिक गरेको सूची अनुसार विदेशबाट फर्किन दूतावासले सिफारिस गरेका व्यक्तिले काठमाडौंको तोकिएका होटलमा आफूलाई पायक पर्ने दर रेटमा होटल बुक गर्न सक्नेछन् ।

मन्त्रिपरिषद बैठकले विदेशमा अलपत्र परेका नागरिकको उद्धारका लागि तत्काल उडान सुरु गर्ने निर्णय गरेको थियो । सरकारले भदौ १ गतेदेखि पाँचौं चरणको उद्धार उडान सुरु गरेको थियो । कोरोना महामारी सुरु भएयता हालसम्म ५१ हजार नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV