५ भाद्र २०७७, शुक्रबार
  • बसन्त लिम्बू,

ताप्लेजुङ, ५ भदौ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दुई वर्षको अवधिमा तीर्थयात्रीहरुले भेटीपातीको रुपमा चढाएका ६८ तोला सुन संकलन भएको छ ।

५४ तोला ५७ लाल सुन (१ नम्बरी) र १४ तोला ६६ लाल (२ नम्बरी) गरी ६८ तोला बढी सुन संकलन भएको हो । यस्तै २९ किलो चाँदी संकलन भएको सुनचाँदी व्यवस्थापन उपसमिति सदस्य गोपाल न्यौपानेले जानकारी दिए ।

उक्त सुन र चाँदी २०७५ साउन १ गतेदेखि २०७७ साउनसम्मको अवधिमा संकलन भएको हो । उक्त सुन र चाँदी विक्रीका लागि उपसमिति बैठकले ७ दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय पाथीभरा भेटीपाती व्यवस्थापन समिति समक्ष पेश गरेपछि मात्र सूचना प्रकाशन गर्ने प्रावधान छ । जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा भेटीपाती व्यवस्थापन समिति गठन गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यसअघि पनि विक्रीका लागि २ पटक सूचना प्रकाशन गरिएको थियो । यद्यपि बढ्दो सुनको भाऊका कारण व्यवसायीले खरिद गर्नका लागि कोटेशन पेश गरेनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV