५ भाद्र २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, ५ भदौ । साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको युरिया मल विराटनगर आइपुगेको छ । शुक्रवार ३० मेट्रिक टन युरिया मल विराटनगर भन्सार कार्यालय भएर विराटनगर आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले जनाएको छ ।

पूर्व क्षेत्रका लागि साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको ५ हजार ६ सय मेट्रिक टन युरिया मल मध्ये ३० मेट्रिक टन शुक्रवार आएको र ८ सय मेट्रिक टन बाटोमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरका प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो । छिटो भन्दा छिटो मल ल्याउनका लागि कलकत्ताबाट ट्रकमा ल्याउन थालेको र कलकत्ताबाट हिडेको ८ दिन भईसकेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

विराटनगर आईपुगेको मल आइतवार देखि सम्बन्धित सहकारीहरु मार्फत वितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले जनाएको छ ।
लकडाउनका कारण कलकत्ताबाट मल आउन ढिलाई भएको हो । धान रोप्नु अघि कृषकहरुले डिएपी मल छर्ने गर्दछन् ।

धान रोपेको १५ दिन पछि युरिया मल छर्नुपर्दछ । मल अभावका कारण युरिया मल छर्न नपाएका कृषकहरुले धान रोपेको करिब एक महिना पछि भने युरिया मल छर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV