५ भाद्र २०७७, शुक्रबार
  • हरिकृष्ण गौतम

म्याग्दी, ५ भदाै । जिल्लामा पहिलोपटक कालिजको व्यावसायिक पालन सुरू भएको छ । हरियाली समुहले बेनी नगरपालिका–४, सिंगामा करिब ८० लाखको लगानीमा १५ रोपनी क्षेत्रफलमा कालिजपालन व्यवसाय शुरु गरेको हो ।

जिल्लाको सबैभन्दा ठूलो कृषि कम्पनीको रूपमा चिनिएको समुहले कृषि मन्त्रालयको अनुमति लिई पहिलो चरणमा ल्याएको करिब ५ सय चल्ला खानयोग्य भएपछि धमाधम बिक्री-वितरण समेत सुरु भएको समूहका प्रबन्धक शेरबहादुर केसीले बताउनुभयो ।

भदौ महिनाबाट प्रतिकालिज रु ३ हजार ५ सय का दरले बिक्री सुरु गरेको केसीले बताउनुभयो । हरियालीमा उत्पादन गरेको चल्लालाई कानुनी मान्यता लिएका फार्ममा विक्री गर्ने, मासुका लागि जिल्लाभित्र होटल, व्यक्तिगतका साथै पोखरासम्म बजार विस्तार गर्ने योजना रहेको छ ।

कालिज व्यवसायलाई अझ बृहत् बनाउन थप ४ सय चल्ला थपिएको छ । एउटा पोथी कालिजले २० देखि ४० वटा अण्डा उत्पादन गर्ने भएकाले बच्चा उत्पादन गरी कालिज व्यवसायलाई समुहको प्रमुख आम्दानीको स्रोत बनाउने योजनासमेत रहेको समुहले जनाएको छ ।

समुहले काठमाडौँको दक्षिणकालीमा रहेको एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले उत्पादन गरेको रिङनेक प्रजातिको कालिज प्रतिगोटा चल्ला १ हजार ३५० का दरले खरिद गरेर ल्याइएकोमा दानापानी र हुर्काउँदा करिब २ हजारभन्दा बढी खर्च हुने हरियाली समुहले जनाएको छ ।

यता समुहबाट कालिज बिक्री सुरु गरिएपछि बेनीको होटल याकले कालिजको सेकुवा, तास, सुपलगायत परिकार बिक्री सुरु गरेको सञ्चालक बाबुराम आचार्यले बताउनुभयो । कालिजको परिकारका लागि होटलमा आउन थालेको सञ्चालक आचार्यको भनाई छ । कालिजको मासुले विभिन्न रोग निको हुने जनविश्वास रहेकाले होटल र व्यक्तिगत रुपमै खरिद गर्न फार्ममा जाने गरेका छन् ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठको परिकल्पना अनुसार स्थापित हरियाली मोडेलको कृषि फार्ममा स्थानीय ३६ जना जग्गाधनी कृषकसहित ५५ जनाको पाँच करोड लगानीमा १५५ रोपनी जग्गामा कालिजका साथै कुखुरा, माछा, बोयर, तरकारी खेती गरिएको छ । फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनि शाखाले परियोजना धितोमा राखेर ५ करोड रुपैयाँ सहुलियत ब्याजदरको कर्जा समेत पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV