५ भाद्र २०७७, शुक्रबार

म्याग्दी, ५ भदाै । छिमेकी जिल्ला बागलुङमा संक्रमतिको सम्पर्कमा रहेकालाई धमाधम कोरोना पुष्टि हुन थालेपछि म्याग्दी प्रवेशमा कडाइ गरिएको छ ।

हिन्दू महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा वा अन्य विभिन्न प्रयोजनका लागि बेनीको कालिपुलबाट प्रवेश गर्न खोज्नेलाई फिर्ता पठाउन थालिएको छ । साथै कालीपुलको नाकाबाहेक अन्य नाकाहरु सिल गरिएकाले लुकिछिपी आएमा फिर्ता पठाउन समेत सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको छ ।

म्याग्दी प्रवेश गर्नेबाट कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिम बढेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको वैठकले जिल्लाको कालीपुलको नाकाबाहेक अन्य नाकाहरु सिल गर्ने निर्णय गरेसँगै कोरोना समुदायमा फैलिएको जिल्लाबाट आउनेलाई स्थानीय तहले जिम्मा नलिए बाटोबाटै फिर्ता गर्ने गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरले बताउनुभयो ।

‘बिहिबार ७ जनाभन्दा बढीलाई फिर्ता पठाइयो, वारिबेनीमै चेकजाँचमा कडाई गरिएको छ,’ प्रनाउ कुँवरले भन्नुभयो ।

बागलुङ र पर्वतमा पारिवारिक सम्बन्ध भएका धेरै भएकाले विभिन्न बहानामा परिचय समेत लुकाएर आवतजावत गर्ने गरिएकाे र यसबाट हुने जोखिमलाई मध्यनजर गरी सिमामा कन्ट्रयाक टेसिङ भइरहेकाे छ । उक्त क्षेत्रबाट आउनेलाई केही समय होल्ड गरी पठाउने गरिएको प्रहरीले जनाएको छ ।

बेनी कालिपुल र वारिबेनी पोष्टबाट पार गरेकालाई होल्डिङ सेन्टरमा राखेर मात्रै सम्बन्धित स्थानीय तहले होम क्वारेन्टाइनमा राख्ने  व्यवस्था गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

‘समुदायमा कोरोना फैलिन नदिने आवश्यक सबै शक्ति प्रयोग गरेका छौँ । देशभरबाट आउनेलाई जिल्ला प्रवेशमा सहज छैन,’ प्रजिअ अधिकारीले भन्नुभयो । सिसीएमसीले छिमेकी जिल्ला बागलुङबाट आउनेलाई धेरै निगरानी गरेको छ ।

गत साउन ३२ गते संक्रमण पुष्टि भएकी बानपा–३ हाडेपाखामा व्यवसायी गरी बस्ने २३ वर्षीया महिलाकाे कन्ट्रयाक ट्रेसिङमा परेका ७ जनालाई संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीमा ५ महिलासहित ४३ जना पुरुष गरी ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । सबै विदेशबाट आएकाले समुदायमा हालसम्म कोरोना संक्रमति छैनन् । म्याग्दीका पहिलो कोराना संक्रमित भारतबाट आएका मालिका गाउँपालिका–४ महभीरका ३० वर्षीय युवा हुन् । हाल बेनीको माउण्ट एभरेष्ट र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २९ पुरुष र ६ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV