५ भाद्र २०७७, शुक्रबार
  • पवित्रा सुवेदी

साँस्कृतिक विविधताको धनी हाम्रो मुलुक नेपालमा हिलो, मैलो र वर्षा सकिनै लाग्दा महान् र ठूला पर्वहरुको शुरुवात हुन्छ । नेपालीहरुको ठुला चाडवाडहरु मध्ये हिन्दु नारीहरुको महान पर्वका रुपमा हरितालिका तीजलाई लिइन्छ ।

यो चाडलाई आम नेपाली महिलाहरुकोे सामाजिक एवं साँस्कतिक अधिकार र स्वतन्त्रताको चाडका रुपमा समेत मनाईन्छ । खास गरी विबाहित महिलालाई पराईको घरमा निर्वाह गर्नुपरेको कार्य तथा जिम्मेवारीबाट हुने क्षणिक मुक्ति र तनाव अन्य गर्न एवं जन्मथलोका साथिभाई र माईतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वले महत्वपूर्ण भुमिका खेलेको पाईन्छ ।

हिन्दु धार्मिक मान्यता र परम्परा अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह भगवान विष्णुसित गरिदिने निर्णय पार्वतीलाई मन नपरेपछि आपूmले मन पराएको वर पाउन जंगलमा गएर तपस्या गर्न थालिन । यसरी पार्वतीले एकसय वर्षको कठोर तपस्या गर्दा पनि फल प्राप्त नभएपछि उनले एकदिन शिवलिंग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसेपछि शिवजी प्रशंन्न भई चिताएको पुगोस भनी आशीर्वाद दिए ।

पार्वतीको कठोर तपस्याको फलस्वरुप शिव पार्वतीको विवाह हुन पुग्यो । उक्त दिन भाद्र शुक्ल तृतीयाको दिन भएको हुनाले हरेक वर्ष हिन्दु महिलाहरुले सो दिनलाई उत्सवको रुपमा मनाउन थालिएको कुरा पौराणिक कालदेखि चल्दै आएको पाईन्छ ।

हिन्दु परम्परा अनुसार र महिला अधिकारको दृष्टिकोणबाट विश्लेषण गर्नुपर्दा पार्वतीले आफ्नो निर्णयमा अटल रही आफुले चाहेको वर प्राप्त गर्न जुन कठोर तपस्या गरिन त्यसबाट आफ्नो बर स्वयम रोज्न पाउने छनोटको अधिकार (Right to choice) सुनिश्चत गरेको रुपमा समेत लिन सकिन्छ ।

प्रारम्भिक कालमा महिलाहरुको सौभाग्यका लागि व्रत बसिने र घरको चौघेरावाट बाहिर निस्की आमा, दिदी, बहिनी र साथीसंगीहरुसँग आफ्ना दुःख, पीडा, व्यथा र बेदना पोख्ने तथा भावना साटासाट गर्ने गतिलो माध्यमका रुपमा यो पर्वलाई मनाइदै आएको पाईएता पनि पछिल्ला वर्षहरुमा शिक्षा, जागरण, सचेना एवं महिला सशक्तीकरणको उपज भनाैं या समयको माग भनौं आजभोलि हरितालिका तीज समयसँगै आधुनिक हँुदै गएको र महिलाहरुले वर्षभरिका दुःख, पीडा र संघर्षलाई भुलेर नयाँ नयाँ कपडा तथा गरगहना सहित खानपिन र नाचगान गर्दै रमाउने पर्वका रुपमा मनाउने गरिन्छ ।

विशेष गरी शहरी क्षेत्रमा तीजको महिनौ अघिदेखि होटल र पार्टी प्यालेसमा महंगो दर खाने र मदिराको सुरमा भड्कििला तथा अपाच्य म्युजिक भिडियो एवं आधुनिक संगीतहरुमा झुम्ने, नाच्ने र रमाउने गरिन्छ ।

विश्वव्यापीकरण अर्थात सीमाविहीन संसारका कारण आज तीज विश्वभर भएका नेपालीहरुले मनाउने हुँदा विश्व समुदायमा रहेका नेपालीहरुबाट समेत यो चाड र संस्कृतिलाईविश्वभरी फैलाउने कार्य भईरहेको छ ।

यसरी हिन्दु नारीहरुको महानपर्व तीज (हरितालिका)मा महिलाहरु मिठामिठा परिकार सहित नयाँ र चम्किला कपडाहरुमा सजिई दिदीबहिनीहरु जम्मा भएर खुसी, मनोरञ्जन तथा सुखदुःख साटासाट गरी नाचगान गर्दै निकै हर्ष उल्लासका साथ मनाईने तीज पर्व यसवर्ष कोरोनाको कहरमा परी खल्लो र निरश हुन पुगेको छ ।

कोरोनाबाट बच्न र बचाउन मास्क लगाउनुपर्ने, सामाजिक र भौतिक दुरी कायम गर्नुपर्ने, मन्दिर, मेला र किनमेलमा बढि भिडभाड गर्न नमिल्ने हुनाले यसपटकको तीज एउटा घरमा होईन एउटा कोठा र टेलिभिजनको पर्दामा सीमित हुन पुगेको छ ।

हुन त बढ्दो तडकभडक, फजुल खर्च तथा देखासिकीले हाम्रा चाडवाड परम्परा र संस्कृति धान्ने भन्दा विकृति, विसंगति र अपराध उन्मुख भईरहेका बेला कोरोनाको कहरले ती पक्षलाई केही हदसम्म ओझेलमा पारेको छ ।

विगतका दिनमा तीजका बेला सार्वजनिक खुला चौरमा, मन्दिर विद्यालय परिशर र पाटि प्यालेसमा महंगो भोज सहित तडकभडक शैलीमा नाचगान हुने गर्थे जो यसपटक शुन्यमा झरेको छ । तीजको बेलामा हुने लत्ताकपडा, सुनचाँदी, मदिरा तथा मासुको व्यापार पनि अहिले न्युन भएको छ । जेहोस हामीले हाम्रा चाडवाड र पर्वहरु मनाउदा परम्परागत धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण तथा जगेर्ना गर्दै मौलिक रुपमा मनाउनु पर्ने र त्यसमा देखिने विकृति, विसंगति, तडकभडक, फजुल खर्च र अपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्दछ ।

कोरोनाको कहरका बीचमा तीजको रौनक र उत्साह कम देखिए पनि यसले हाम्रा चाडपर्वलाई मौलिक, सरल, सभ्य र शिष्ट रुपले मनाउनु पर्दछ भन्ने सिकाएको छ । हाम्रा लागि हाम्रो जीवन पहिलो प्रथामिकता हो ।

पहिला जीवन जोगाऊँ , आफू सुरक्षित बनौं, अरुलाई सुरक्षित राखौं अनि जीवन रहे मात्र स्वतन्त्रता, खुसी र सुख भोग गर्न पाईन्छ अनि हरेक वर्ष आईरहने यी र यस्ता चाडवाड निरन्तर मनाउन पाईन्छ भन्ने जीवन्त सन्देश पनि कोरोनाको चपेटोमा परेको तीजले दिएको छ ।

चाडवाडका बेलामा हुने अपराध, हिंसा, चोरी, डकैती, लुटपाट पनि कम भएका त छन । तर यस पालिको तीज आईरहँदा नेपालमा पनि विश्वभर फैलिएको कोरोना भाईरसका संक्रमित विरामी र मृतकको संख्या दिनानुदिन बढिरहेको पीडा एकातिर छ भने अर्कातिर देशव्यापी रुपमा भैरहेको अविरल वर्षाका कारण आएको वाढिपैरोले सयौंको संख्यामा वेपत्ता, मृत्यु र घाइते तथा करोडौको भौतिक क्षति बेहोर्नु पर्दा देश शोक र संकटमा रुमलिएको छ ।

यसले गर्दा अवस्था र परिस्थिती अनुसार हामी फैलिन मात्र होईन खुम्चिन पनि सिक्नु र सक्नु पर्ने सन्देश हामीले पाएका छौ । त्यसैले यसपालिको तीज घरभित्रै मनाऔं, आफू सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौं भन्दै कोरोनाको विपत्ति तथा वाढिपैरोको प्रकोपबाट छिट्टै मुक्ति मिलोस भन्ने कामना गर्दै सम्पुर्ण हिन्दु नारीहरुमा हरितालिका (तीज) को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV