५ भाद्र २०७७, शुक्रबार
  • बाशु श्रेष्ठ

धादिङ्ग, ५ भदौ । काठमाडाैँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै ट्रक चालक धादिङको नौबिसेमा अलपत्र परेका छन् । काठमाडाैँ भक्तपुर, ललितपुर, जिल्लाले बुधबार राति १२ बजेदेखि भाद्र १० गतेसम्म निषेधाज्ञा जारी गरेपछि उनीहरु नैबिसेमा नै अलपत्र परेका हुन् ।

अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ता-कपडा लगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा रोकपछि ट्रक चालक अलपत्रमा परेका हुन् ।

नौविसे-नागढुङ्गा अन्तरगत त्रिभुवन राजपथको सडक दायाँबायाँमा रहेका ३ सयभन्दा बढी ट्रक पार्किङ्ग गरेर बसेका छन् । मिडियामार्फत निषेधाज्ञाको सूचना जारी गरे पनि आफुहरुले थाहा नपाएको र सोही कारण दु:ख पाएको चालकहरुले बताए ।

लामो समय लकडाउनको कारण घरमै बसेका बलराम चौधरी केही खुकुलो हुन थालेपछि ट्रक चलाउन थाले । चलाउन थालेको केही समय ट्रक संचालन हुने भ्रमले उनी भैरवादेखि छड लोड गरे र रातारात उनी काठमाडौँ अनलोड गर्न हिडे । तर उपत्यकामा निषेधाज्ञाका कारण उनी नागढुङ्गा नाकाबाट फर्काइए ।

नागढुङ्गा नाका प्रवेश गर्न बलरामले दुईपटक प्रयास गरे तर पाएनन् । सीमित खर्च लिएर हिँडेका उनसँग जम्मा २, ३ दिनलाई खर्च भए पनि अरु दिन भोकै वस्नुपर्ने हो कि भन्ने चिन्ता छ । सुचनाको अभावले अप्ठारोमा परेकाे उनी बताउँछन् ।

उनी मात्र होइन, काठमाडाैँ छिर्न नपाएका अरु चालकको पनि त्यस्तै अवस्था छ । आफ्नो सामलतुमल जाेहो गरेर हिँडेका चालक कोही तरकारी खरिद गर्न हिँडेका थिए भने कोही सवारीभित्रै खाना पकाउन व्यस्त देखिन्थे । तर जोहाे नहुनेहरु चाउचाउ, चिउरा र पानी खादै भोको पेट मार्दै थिए ।

निषेधाज्ञाका कारण अलपत्र परेका मालबाहक सवारीलाई सहज बनाउन कुरा भइरहेको थानकोट प्रहरी वृत्तका प्रमुख नायव प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले बताए । काठमाडौँ आउन धेरै लामो दुरीबाट आउदा तालुक निकायले रोके यस्तो समस्या नहुने र निषेधाज्ञाको समय अत्यावश्यक वस्तु भन्दा अन्य सामाग्री ढुवानी नगर्न समेत उनले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV