५ भाद्र २०७७, शुक्रबार

काठमाडाैं, ५ भदाै । काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।

उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने बताउनुभयो । अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा तीन सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV