४ भाद्र २०७७, बिहीबार
  • तारा आचार्य

विराटनगर, ४ भदौ । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आइसियु र भेन्टिलेटर सेवा सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेल बताउनुभयो ।विहिबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजित गरेर कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले लक्षण भएका र जटिल अवस्थाका संक्रमितलाई विराटनगरको कोभिड १९ उपचार केन्द्रमा ल्याउने बताउनु भयो । उहाँले क्वारेन्टाईन र आईसोलेसन लाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुने बताउनुभयो ।कोशी कोभिड उपचार केन्द्रमा १० वटा आइसियु वेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो । उहाँले आइसियुमा हाल ३ जना व्यक्तिहरु उपचाररत रहेको जानकारी दिनुभयो । आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवस्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको सचिव कार्कीले बताउनुभयो । उहाँका अनुसार थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम इसञ्चालन गर्ने तयारी गरिएको छ ।

गत चैत २१ गते देखि सञ्चालनमा ल्याईएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना सुरु गरिएको थियो । उपचार केन्द्रमा हाल सम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरि २ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमित एक जनाको मृत्यु भएको छ ।

उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरि ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दीपक सिग्देलले बताउनुभयो । उहाँले पहिले पहिले विना लक्षणका संक्रमितहरु मात्र आउने गरेको र उनिहरुलाई आइसियु र भेन्टिलेटरको आवश्यक्ता नपरेको बताउदै यतिवेला लक्षण भएका संक्रमितहरु आउन थालेको हुनाले आइसियु र भेन्टिलेटरको प्रयोग गर्नु पर्ने अवस्था आउन सक्ने बताउनु भयो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दास, डा. दीपक सिग्देल, डा। डेन आचार्य, डा. रुपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ । अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV