४ भाद्र २०७७, बिहीबार
  • अमर काफ्ले

इनरुवा, ४ भदौ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ७ मा सुनसरी प्रहरीको टोलीले खानतलासी गरेको छ । स्थानीय गुणराज यादवको हत्या अनुसन्धानका क्रममा रहेको प्रहरीले गाउँमा पुगेर तीन घरमा खानतलासी गरेको स्थानीयले बताएका छन् ।स्थानीयले दिएको जानकारी अनुसार सर्च गरिएका घरबाट प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ । शंका गरिएका एक व्यक्ति भने फेला नपरेको उनीहरुले जानकारी दिए । प्रहरीले गुणराजको हत्यामा संलग्न ५ जनालाई यस अघिनै पक्राउ गरिसकेको छ । सोही घटनाको थप अनुसन्धानको क्रममा नरसिंह पुगेको प्रहरी निरीक्षक सरोज खनाल सहितको टोलीले स्थानीयका केही घरमा खानतलासी गरेको हो ।

प्रहरीको सर्चको क्रममा स्थानीयहरुले घटनाको अनुसन्धान र हत्यारा पक्राउ गरेको विषयलाई लिएर कडा कार्वाहीको माग सहित नाराबाजी गरेका छन् । प्रहरीले सर्च गरिरहँदा सडकमा भेला भएका स्थानीयले गुणराजको हत्यारालाई कडा कार्वाही गरिनु पर्ने माग गरेका छन् । उनीहरुले पक्राउ परेकाहरु छुटाउन केही व्यक्ति राजनैतिक पहुँच भिडाउन लागिपरेको भन्दै अपराधीलाई संरक्षण दिन खोज्नेलाई समेत कार्वाहीको दायरामा ल्याउनु पर्ने उनीहरुले माग गरेका हुन् ।

प्रहरीको समर्थनमा नाराबाजीमा उत्रिएका स्थानीयले अनुसन्धान फितलो हुन नदिन समेत प्रहरी समक्ष आग्रह गरेका थिए । स्थानीयले जिल्ला प्रहरी कार्यालय सुनसरी सहित प्रहरी प्रमुख कमल थापा र घटना अनुसन्धानमा खटिदै आएका प्रहरी निरीक्षक सरोज खनालको समर्थनमा नारा लगाएका थिए ।

साउन २९ गतेबाट हराएका गुणराजको शव सुनसरी खोलामा बोरामा हाली फालिएको अवस्थामा ३१ गते फेला परेको थियो । पक्राउ परी अदालतबाट म्याद थप गरिएका दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दिपक कुमार यादव र प्रदिप रामले बयानका क्रममा हत्या स्विकारेको प्रहरीले यस अघिनै बताइसकेको छ ।

सुनसरीका प्रहरी प्रमुख कमल थापाले घटनाको सूक्ष्म अनुसन्धान जारी रहेको बताएका छन् । थापाले गुणराज हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले केही घरमा सर्च गरेको बताए । उनले थप विषय अनुसन्धानको क्रममा रहेको जानकारी दिए । सुनसरी प्रहरीले गुणराजको हत्यामा संलग्नताको आधारमा थप अनुसन्धानको क्रममा केहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV