४ भाद्र २०७७, बिहीबार
  • घनश्याम मिश्र,

धनुषा, ४ भदौ । प्रादेशिक अस्पतालको चरम लापरवाही र उपचारको अभावमा एक युवकको मृत्यु भएको छ । यसरी युवकको मृत्युपछि अस्पताल प्रशासन र डाक्टरको चौतर्फी आलोचना भइरहेको अवस्थामा अस्पताल प्रशाशनले भने एक विज्ञप्ती जारी गर्दै आफूहरुको कुनै कमी कमजोरी नरहेको जनाएको छ ।

विज्ञप्ती जारी गर्दै अस्पताल प्रशासनले युवकको उपचारमा डाक्टरले गर्नुपर्ने सबै काम गरेको उल्लेख गरेको छ । धनुषाको सबैला नगरपालिकाका ३० वर्षीय प्रमोदकुमार महतो भदौ २ गते साँझ पाँच बजे प्रादेशिक अस्पताल आएका र आफूलाई मिर्गौला सम्बन्धी रोग भएको अस्पतालको इमरजेन्सी वार्डमा जानकारी दिएका विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै, विज्ञप्तीमा विरामीले उपचार सम्बन्धी कुनै कागजपत्र लिएर नआएका र डायलासिस उक्त अस्पतालमा कहिल्यै पनि नभएको स्पष्ट पारिएको छ ।’

के भएको थियो अस्पतालमा ?

धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोदकुमार महतो उपचारका लागि अस्पताल पुग्दा पनि स्वास्थ्यकर्मीले डायलासिस नगरेकै कारण भदौ ३ गते मृत्यु भएको मृतक परिवारको आरोप छ ।

मृतकका पिता जोगेन्द्र महतो र आमा रामकुमारी महतोले छोरा प्रमोदलाई उपचारका लागि भदौ २ गते बिहान १० बजे नै प्रादेशिक अस्पताल जनकपुर लगेका थिए । प्रमोदलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो ।

मृतक बुवाले स्थानीय सञ्चारकर्मीलाई दिएका जानकारी अनुसार शुरूमा इमर्जेन्सीको टिकट कटाएपछि इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो । मृतकका बुवा महतोले भने, ‘इमर्जेन्सी कक्षमा एउटा सुई लगायो । तरपनि सासको समस्या ठीक भएन ।’

मिर्गौलाको बिरामी भएको कारण डायलासिस नै गर्नुपर्छ भनेर चिकित्सकले अस्पतालकै डायलासिस वार्डमा लैजान भनेका थिए । तर, प्रमोदले डायलासिस वार्डमा सेवा पाएनन् ।

‘वार्डमा २ जना नर्स मात्र थिए । उनीहरूले आफ्नो ड्यूटी सकिएको तथा अन्य स्वास्थ्यकर्मी समेत नरहेका कारण डायलासिस हुँदैन, बाहिर लग्नुस् भनेर जवाफ दिए ।’ मृतकका पिता महतोले भन, ‘छोरालाई धेरै अप्ठ्यारो भयो । सास समेत लिन सकिरहेको छैन भनेर आफूले नर्सहरूलाई हारगुहार गरेँ । उपस्थित स्टाफले पनि बिरामीलाई बाहिर लिएर गइहाल्नुस् भने ।’

अस्पतालमा उपचार नपाएपछि प्रमोदलाई आमाबुवाले घर फर्काए । घर आएपछि पनि प्रमोद छट्पटाइरहेका थिए । यसअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा प्रमोदको उपचार गर्ने तथा डायलासिस गर्ने चिकित्सकसँग सम्पर्क गर्दा जसरी पनि अस्पताल लगेर डायलासिस गराउन सुझाव पाएका थिए ।

त्यसपछि एम्बुलेन्समा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा सिरहाको मिर्चैयामा नै प्रमोदको मृत्यु भयो । मृत्यु पश्चात यतिबेला सामाजिक सञ्जालमा प्रदेश २ सरकार र अस्पताल प्रशासनविरुद्ध चर्को आक्रोश पोखिएको छ ।

घटनाको छानविन गरेर दोषी डाक्टर र अस्पताल प्रशासनलाई कारवाही हुनुपर्ने स्थानीयले माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV