
- निमेन्द्र शाही
बाजुरा, ५ भदाै । बाजुरा जिल्लाको पुर्वाेत्तर क्षेत्रको मुख्य व्यापारिक केन्द्र कोल्टी बजारमा सामान्य पानी बग्ने नालासमेत नहुँदा यहाँका स्थानीय र आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ । बजारको बीचमा कच्ची सडक छ, जहाँ पानी पर्दा र होटल तथा घरबाट निस्केको फोहर पानी समेत बाटोमै बग्ने गर्छ । यसका कारण हिँडडुल गर्न समेत सास्ती भएको हो ।
त्यस क्षेत्रका स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मुख्य बजार रहेको उक्त क्षेत्र बुढीनन्दा नगरपालिकाको कार्यालय रहेको क्षेत्र पनि हो । रारा खप्तड जाने पर्यटकहरु समेत नेपालगन्ज सुर्खेतबाट कोल्टी एयरपोर्टमा आउने गर्दछन्। बजारमा सामान्य नाला समेत नहुँदा बजारमा जताततै फोहर पानी छताछुल्ल अवस्थामा छ ।
नाला नभएका कारण सडकमा गाडी गुड्दा हिलो घर भित्र जाँने र सडक नजिकका पसलमा राखीएका समानमा हिलो छ्यापीने गरेको छ। यस प्रति नत त्यहाँको स्थानिय तह नत अरु कसैले चाँसो दिएको पाईन्छ। यसले रोग फैलाउँन सक्ने ठुलो खतरा रहेको छ।
यहाँको बाटोमा घरबाट निस्केको फोहर पानी र फोहर फाल्ने ठाउँ बनेको छ । यहाँ गाडी गुड्दा हाम्रो पसलमा हिलोले छ्यापेर सबै कपडा बिग्रने गर्छन् । यसमा कसैले चासो नदिएको स्थानीय व्यापारी बताउँछन् ।